अविनाश चौधरी
धनगढी, कात्तिक १२ गते । कैलालीमा कान्द्रा नदी किनारमा निर्मित हुलाकी राजमार्गले बाँधको काम गरेर स्थानीय बस्ती जोगाएको छ । भजनी नगरपालिका –५ लालबोझी क्षेत्रमा निर्माण गरिएको हुलाकी राजमार्गले नदीको पानी बस्तीमा पस्नबाट रोकेपछि लालबोझीवासीलाई राहत भएको हो ।
हरेक वर्ष डुबान समस्या झेलेको सो गाउँवासीले यसवर्ष डुबानबाट छुट्कारा पाएका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालयले करिब डेढ किलोमिटर क्षेत्रमा अग्लो हुलाकी राजमार्ग बनाएपछि यस वर्षको बर्खामा डुबान समस्या भोग्न नपरेको स्थानीय खोजराम चौधरीले बताउनुभयो । “हरेक वर्ष डुबान हुँदैआएको यहाँ यस वर्ष डुबान भएन” उहाँले थप्नुभयो, “हुलाकी राजमार्गले बाँधको काम गरेको छ ।”
कान्द्रा नदीका कारण लालबोझी गाउँका कैयौं परिवारको उठिबास भइसकेको छ । विगत वर्षमा नदीले कटान गरेपछि केही परिवार विस्थापित भएका थिए । नदीले हुलाकी राजमार्गसमेत कटान गरेको थियो । कटान गरिएको क्षेत्रमा ड्यामजस्तै उठाएर गतवर्ष त्यसमाथि हुलाकी राजमार्ग बनाइएको थियो ।
राजमार्गले बस्तीलाई सुरक्षित गरेको छ । बाँधजस्तो अग्लो हुलाकी राजमार्गले कान्द्राको पानी सिधै बस्तीमा जानबाट रोकेको स्थानीयले बताएका छन् ।