रमेश विश्वकर्मा
गुल्मी, फागुन २८ गते । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले कृषि पेसामा आधुनिकता ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय विपी स्मृति भवन तम्घासमा भएको नेपाल किसान महासङ्घ गुल्मीको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद सापकोटाले नेपाल कृषि प्रधान देश भएको हुँदा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । कृषिजन्य उत्पादनमा वृद्धि गर्न आम कृषकहरू लाग्न जरुरी रहेको भन्दै कृषि हाम्रो देश पहिचान समेत भएको हुँदा कृषि पेसामा आधुनिकता सरकारका सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
वास्तविक कृषकलाई अनुदान लगायतका विभिन्न सुविधासँग जोड्न सरकारका सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नयाँ पुस्ताले पनि कृषि पेसालाई सिक्न जरुरी रहेको भन्दै सांसद सापकोटाले नयाँ पुस्तालाई कृषि पेसासँग जोड्ने महत्त्वपूर्ण कार्यक्रमहरू सरकारले ल्याउनुपर्ने बताउनुभयो ।
व्यावसायिक रूपमा कृषि पेशामा लाग्नुका साथै कृषि पेसालाई अब्बल बनाउन कृषक र राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि सरकारले पनि विशेष नीति ल्याउन जरुरी रहेको उहाँको भनाइ छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएकी सांसद सापकोटाले सबैले कुरा होइन कर्मलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै, उहाँले नेपालको उर्वरा भूमिलाई उत्पादनका लागि प्रयोग गर्न सरकारले विशेष नीति ल्याउन जरुरी रहेको भन्दै किसानहरु आफ्नो पेसाप्रति र पेसागत हकहितका लागि क्रियाशीलसँगै एकताबद्ध भएमा समुन्नत नेपाल निर्माणमा निकै टेवा पुग्ने बताउनुभयो । कृषि पेसालाई अब्बल बनाउने गरी सबै कृषकहरू लाग्नुपर्ने उहाँको भनाइ छ ।