• २८ फागुन २०८१, बुधबार

कोशी प्रदेशसभामा विशेष सम्बोधन

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

विराटनगर, फागुन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ ।

कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराउनुभयो ।


यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उहाँले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताउनुभयो ।

“हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सिर्जना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’’


प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबिच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गर्नुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गर्नुभएको थियो ।