प्रनिश गिरी
कुश्मा, पर्वत फागुन २७ गते। पर्वत जिल्लामा गरिएको एक अध्ययनले विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो टड्कारो देखिएको छ।जिल्लाको कुश्मा नगरपालिकामा रहेका उच्च माध्यामिक तहका विद्यार्थी माझ गरिएको अध्ययन अनुसार मानसिक स्वास्थ्य सम्बन्धी शिक्षाको खाँचो अपरिहार्य देखिन्छ ।
प्रदेश स्वास्थ्य कार्यालय पर्वतको विज्ञ सहितको टिमले एक महिना लगाएर उच्च मावि तहका विद्यार्थीको मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारेको हो। अध्ययन अनुसार उच्च माध्यमिक विद्यालयस्तरमा नै विद्यार्थी एनजाइटी, आत्महत्याको सोच राख्ने, डिप्रेसन, लागुपदार्थ दुव्र्यसनी, ध्रुम्रपान, मद्यपान लगायतको चपेटामा परेको पाइन्छ।
अध्ययन अनुसार विद्यार्थीमा एन्जाइटी लक्षण ३६.५ प्रतिशत, डिप्रेसन १७.४ प्रतिशत, आत्महत्याको सोच राख्ने ७.६ प्रतिशत रहेको छ। त्यसैगरी अध्ययन प्रतिवेदनमा ध्रुम्रपान गर्ने ५ प्रतिशत, लागुपदार्थ दुर्व्यसनी २ प्रतिशत, रक्सी सेवन गर्ने विद्यार्थी ३ प्रतिशत रहेको उल्लेख छ।विद्यार्थी छनाेट गरिएका विद्यालयका कुल तीन सय ४ जना छात्रछात्रासँग परामर्श गरी मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारिएको हो।
अध्ययन टोलीमा सहभागी मध्येकी विज्ञ अन्जली पिसीले मानसिक स्वास्थ्य समस्या देखिने विद्यार्थीमध्ये धेरैजसो एकल परिवारमा बस्ने, सम्बन्ध विच्छेद भएको परिवार, बाबुआमाको शैक्षिक अवस्था कम रहेको, अभिभावकको मासिक ५० हजार भन्दा कम आम्दानी भएको बताउनुभयो।
मानसिक स्वास्थ्य अवस्थालाई राम्रो बनाउनका लागि अभिभावकले आफ्ना छोराछोरीलाई प्रर्याप्त समय र साथ दिनुपर्ने, भावनात्मक रूपमा अझ बढी नजिक हुनुपर्ने, मनका कुरा खुलेर गर्ने, कहाँ र किन बाहिर गएको बारे चासो दिनुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ। जनस्वास्थ्य प्रमुख बद्रीराज आचार्यले मानसिक स्वास्थ्य समस्या नवीनतम र जटिल सामाजिक समस्या भएको बताउनुभयो।
अध्ययनका लागि १६ देखि २० वर्ष उमेर समूहका विद्यार्थी समेटिएका थिए।