• २८ फागुन २०८१, बुधबार

गाजाको बिजुली कटौती गर्ने निर्णयको अरब राष्ट्रहरूद्वारा निन्दा

blog

रियाद, फागुन २७ गते । साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् ।

युद्धविराम वार्तामा अवरोध देखिएको बेला प्यालेस्टिनी विद्रोही समूह हमासलाई बन्धकहरू रिहा गर्न दबाब दिने प्रयासमा इजरायलले आइतबार गाजामा एक मात्र पानीको डिसेलिनेसन प्लान्टमा जाने एकमात्र विद्युत् लाइन विच्छेद गरेको घोषणा गरेको थियो ।

साउदी अरेबियाको विदेश मन्त्रालयले ‘इजरायली कब्जा अधिकारीहरूद्वारा गाजा पट्टीमा क्षेत्रबाट बिजुली काटेर प्यालेस्टिनीहरू विरुद्ध सामूहिक सजायको प्रयोग गरेकामा कडाभन्दा कडा शब्दमा निन्दा’ व्यक्त गरेको छ ।

कतारको विदेश मन्त्रालयको एक वक्तव्यमा भनिएको छ, “कतारले गाजा पट्टीमा विद्युत् काट्ने इजरायली कब्जाको कडा निन्दा गर्दछ, यसलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन मान्दछ ।”

इजरायली अधिकारीहरूले गाजामा सहायता प्रवेश रोकेको लगभग एक हप्तापछि जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता सुफ्यान कुदाहले विद्युत् कटौतीलाई ‘इजरायलले लगाएको भोकमरी र घेराबन्दीको नीतिको स्पष्ट निरन्तरता’ भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले गाजाको जनसङ्ख्याका लागि ‘गम्भीर परिणामहरू’ हुने चेतावनी दिएको छ भने बेलायतले इजरायली कदमबाट ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ ।

साउदी अरेबियाले अन्तर्राष्ट्रिय समुदायलाई ‘तत्काल कदम चाल्न’ आह्वान गरेको छ भने कतारले पनि ‘प्यालेस्टिनी जनतालाई आवश्यक सुरक्षा प्रदान गर्न तत्काल कदम चाल्न’ आग्रह गरेको छ ।

जोर्डनका कुदाहले विश्वलाई ‘आफ्नो कानुनी र नैतिक जिम्मेवारी ग्रहण गर्न र इजरायललाई युद्धविराम सम्झौता जारी राख्न... गाजामा विद्युत् पुनःस्थापना गर्न’ तथा सहायता वितरणका लागि सीमा क्रसिङहरू पुनः खोल्न बाध्य पार्न आह्वान गर्नुभयो ।

जनवरीदेखि गाजामा युद्ध रोकिएको नाजुक युद्धविरामलाई विस्तार गर्ने प्रयासको हिस्साका रूपमा  इजरायली वार्ताकारहरूले कतारमा मध्यस्थकर्ताहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको थियो । उक्त युद्ध सन् २०२३  अक्टोबर ७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणबाट सुरु भएको थियो । रासस/एएफपी