• २८ फागुन २०८१, बुधबार

चरणबद्ध आन्दोलनमा ‘नो केबुलकार’ पक्ष

blog

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्र।तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २७ गते। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न थालिएको केबुलकारको विरोध गर्दै आएको ‘नो केबुलकार’ पक्षले अर्को चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।नो केबुलकार पक्षअन्तर्गत मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीलय सङ्घर्ष समितिले अनिश्चितकालीन यातायात बन्दसहितको कार्यक्रम सार्वजनिक गरेको हो।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजको मुद्दा टुङ्गो नलागेसम्म वार्तालाई खुला राख्दै सार्वजनिक कार्यक्रमअन्तर्गत जनसभा, आमसभा, अनशन र यातायात बन्दसमेत रहेका छन्। फागुन २८ गते बुधबार काठमाडौँमा बुद्धिजीवी भेला गर्दै आन्दोलनको कार्यक्रम सुरु गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत चैत २ गते राजनीतिक दल, प्रदेश तथा सङ्घीय सांसदहरूलाई मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारी पत्र दिने, धरानमा मुक्कुमलुङ सम्मेलन गर्ने रहेको छ। चैत ३ गते व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारीपत्र दिने र फुङ्लिङमा रिले अनशनको कार्यक्रम गर्ने रहेको छ।

त्यसैगरी जुम बैठकद्वारा पक्राउ परेका, वारेन्ट जारी भएकाको नामावली सार्वजनिक र फुङ्लिङमा फागुन १० मा भएको घटनाबारे विश्वभर जानकारी दिने कार्यक्रमको घोषणा गरिएको छ। यस्तै चैत ४ दखि १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गर्ने, साङ्केतिक रूपमा एसियन हाइवे बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

त्यस्तै चैत ६ गते अन्तर धार्मिक समन्वय भेला र काठमाडौँमा सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको छ।चैत ७ गतेदेखि अन्तर्राष्ट्रिय निकायमा मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारीपत्र दिने र ८ गते मुक्कुमलुङ आन्दोलनका क्रममा भएका गतिविविधको फोटो प्रदर्शनी गर्ने रहेको छ।यसैगरी चैत ९, १० र ११ गते लहान, जनकपुर र लालबन्दीमा जनप्रर्दशन तथा आमसभा, चैत १० गते कवि तथा साहित्यकार भेटघाट कार्यक्रम गर्ने तय भएको छ।

चैत १५ गतेदेखि २२ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा गाउँ जागरण अभियान, घाइते तथा पक्राउ पूर्जी जारी भएकासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गर्ने र चैत २५ गतेदेखि कोशीका १४ जिल्लामा अनिश्चिकालीन यातायात बन्द गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।