काठमाडौँ, फागुन २७ गते । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दाङको लमही क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई चार विकेटले हरायो ।
यसअघि गण्डकी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो । यस्तै पहिलो हार खेपेको कर्णालीले यसअघि सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको थियो ।
जितक लागि कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । गण्डकीका लागि दीपक डुम्रेले अविजित ५० रन बनाउनुभयो । यस्तै सुजन गौतमले अविजित २२ रन जोड्नुभयो ।
बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिनुभयो । दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २० रन बनाउनुभयो । यस्तै अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाउनुभयो । बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी, कप्तान विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिनुभयो ।
यस्तै लिुम्बिनी प्रदेशको सिद्धार्थ रङ्गशालामा भएको अर्को खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो । मधेशको यो पहिलो जित हो ।
जितका लागि मधेशले दिएको दुई सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १९ रनमा समेटिएको थियो ।
कोशीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा कोशी लुम्बिनीसँग पराजित भएको थियो ।