सन्तोष राउत
सोलुखुम्बु, फागुन २३ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले शिलान्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो ।
सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण सुरु भएको उक्त सडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपियाँ छ । भुजेल निर्माण सेवा ओखलढुङ्गाले निर्माणको जिम्मा पाएको सडकको कालोपत्रेको काम गएको माघबाट सुरु गरी आगामी असार २० गतेभित्र सम्पन्न गरिने सझौता पत्रमा उल्लेख छ ।
सडकको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले तिङ्ला जिरो पोइन्टबाट तत्काल एक किलोमिटर सडक कालोपत्रे गर्ने र त्यहाँबाट पाँच किलोमिटर सडक ग्राभेलको टेन्डर प्रक्रिया अघि बढाइएको बताउनुभयो ।ग्रामीण विद्युतको कामदेखि शैक्षिक पूर्वाधारको गुणस्तरीय विकासलगायत तिङ्लामा विकासले निकै गति लिएको उहाँले दाबी गर्नुभयो ।
त्यस्तै, तिङ्लाका जनताको माग बमोजिम सडक कालोपत्रेदेखि सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएकोमा प्रमुख शेर्पालाई विशेष धन्यवाद दिँदै वडा अध्यक्ष टङ्कबहादुर कार्कीले खुसी व्यक्त गर्नुभयो । यता निर्माण कम्पनीका प्रतिनिधि मदनकुमार राईले गुणस्तरीय सडक कालोपत्रे गर्नेमा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपाली तथा स्थानीय जनप्रतिनिधिले गाउँको विकासमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।