चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २२ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा केन्द्रिकृत रुपमा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ। फक्ताङ्लुङ गाउँपालिकास्तरीय कक्षा ८ अर्थात आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ बिहीबारदेखि सुरू भएको हो।
गाउँपालिकाले यसवर्ष केन्द्रिकृत रुपमा आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन गरेको हो। जसअनुसार गाउँपालिकाभरमा दुईवटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा गराउन सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार वडा ३ लिङ्खिमको सिँवा माध्यमिक विद्यालय र वडा ५ तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा केन्द्र कायम गरी परीक्षा सुरु गरिएको छ।
शैक्षिक गुणस्तर सुदृढीकरण, परीक्षामा एकरुपता र विद्यार्थीलाई भविश्यमा हुने परीक्षाहरुको समेत अभ्यास होस भन्ने उद्देश्यले आधारभूत तह उत्तीर्ण परीक्षा केन्द्रिकृत रुपमा सुरु गरिएको अध्यक्ष लिम्बूको भनाइ छ। कक्षा ८ अर्थात आधारभूत तह उत्तीर्ण परीक्षासँगै कक्षा १० को स्तरमापन परीक्षा पनि बिहीबारदेखि नै सुरु गरिएको हो।
गाउँपालिकाका अनुसार सिँवा माध्यमिक विद्यालय केन्द्रमा १३९ जना र सरस्वती माध्यमिक विद्यालय केन्द्रमा ११० गरी २४९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षा फागुन २९ गते बिहीबारसम्म सञ्चालन हुने छ। यता परीक्षा केन्द्र रहेका क्षेत्रमा होहल्ला नगर्न, विद्यार्थी (परीक्षार्थी) को बसाई सहज बनाउन तथा विद्यार्थीको लागि शान्त वातावरणमा पढ्ने र परीक्षा लेख्ने अवस्था सिर्जना गराउनमा सहयोग गर्न गाउँपालिकाले सबैलाई आग्रहसमेत गरेको छ।