• २२ फागुन २०८१, बिहिबार

अत्याधुनिक वाटरपार्क सञ्चालनको तयारी

blog

भर्खरै बनेको वाटर पार्क क्षेत्र । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, फागुन २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामसँग नजिक रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ मा निर्माण भएको अत्याधुनिक वाटरपार्क शुक्रबारदेखि सञ्चालन हुन लागेको छ । 

जानकी फनपार्क एण्ड रिर्सोट प्रालिद्वारा सञ्चालन हुन लागेको वन्डरलैंड वाटरपार्कको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका प्रबन्ध निर्देशक गुड्डु जैनले शुक्रबार विहान ११ वजे अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा उदघाटन हुने जानकारी दिनुभयो । 

तीन लाख स्क्वायरफिट क्षेत्रफल रहेको उक्त पार्कमा मलटिलेन सलाइड टु लेन, बोडी वेभ स्लाइड, हाइस्पिड वोडी सलाइड, ओपेन वोडी टर्निङ्ग सलाइड, ओपेन फलोट सलाइड, वेभ पुल, रेन डाँस, फाइभ प्लेटफर्म वाटरप्ले सिस्टम, टोट एक्टीभिटी, फुड कोर्ट, पार्टी हल, परफरमेन्स स्टेज निर्माण भइसकेको प्रबन्ध निर्देशक जैनले जानकारी गराउनुभयो । 

वन्डरलैंड वाटरपार्क दक्ष तथा अनुभवी कर्मचारीको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुकी –५ बजेसम्म सञ्चालनमा रहने भन्दै पार्कमा प्रवेश गर्ने तीन फीट मुनीका बालबालिकालाई प्रवेश शुल्क नलाग्ने र अन्यको हकमा प्रतिव्यक्ति ८४० तथा कर प्रवेश शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । 

पानीको स्वच्छता कायम गर्न पार्कमा चारवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको बताँउदै आगन्तुकका लागि कस्टम तथा लकर उपलब्ध गराउने व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पर्यटन प्रबर्धनको साथै रोजगारीको अवसर सिर्जना गर्नु र मधेश प्रदेशका जनतालाई मनोरञ्जन प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य रहेको भन्दै प्रबन्ध निर्देशक जैनले सिद्धार्थ वैंकको क्रण सहयोगमा हालसम्म पार्कको निर्माणमा १२ करोड ५० लाख खर्च भइसकेको जानकारी दिनुभयो । उदघटनका दिन फागुन २३ गते शुक्रबार सबैलाई प्रवेश निःशुल्क गरिएको उहाँले बताउनुभयो ।