अविनाश चौधरी
धनगढी, फागुन २२ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल रेडक्रस कैलाली शाखालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ।
आज रेडक्रस कैलाली शाखाका पदाधिकारीसँगको भेटघाटमा उहाँले रेडक्रसले राम्रो काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो।प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गराउने बिरामीलाई रेडक्रसमार्फत एक पिन्ट रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
भेटको क्रममा रेडक्रस कैलालीका सभापति लोकराज जोशीले रक्त सञ्चार सेवामा प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।साथै, रेडक्रसको संस्थागत गतिविधिको बारेमा उहाँले मुख्यमन्त्रीसंग छलफल गर्नु भएको थियो।सभापति जोशीले रेडक्रसले सञ्चालन गर्ने सेवामूलक कार्यका लागि पनि सहयोग गर्न मुख्यमन्त्री शाहलाई आग्रह गर्नु भएको थियो।
सो क्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य उत्तम जोशी लगायतको उपस्थिति रहेको थियो।