गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो । उहाँले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ ।
नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ ।’ सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गर्नुभयो ।