• २२ फागुन २०८१, बिहिबार

राजधानीमा राष्ट्रिय अपाङ्गता सम्मेलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २२ गते । अपाङ्गता भएका व्यक्तिमध्ये पनि न्यून सङ्ख्यामा रहेका, सीमान्तकृत वर्गका समस्या, चुनौती पहिचान गर्न राजधानीमा राष्ट्रिय अपाङ्गता सम्मेलन आयोजना गरिएको छ । विश्व अपाङ्गता शिखर सम्मेलन–२०२५ को सन्दर्भमा नेपालका न्यून सङ्ख्यामा रहेका, सीमान्तकृत वर्गका अपाङ्गता भएका व्यक्तिको समस्या, चुनौती पहिचान र समावेशीकरणका सवालमा बुधबार यस्तो सम्मेलन आयोजना गरिएको हो ।

अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील संस्था कोसिस, दलित अपाङ्गता सङ्घ नेपाल र राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपालद्वारा आयोजित सम्मेलनमा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले अपाङ्गताका सवालमा समितिसमक्ष आएका विधेयक, प्रतिवेदनलगायतमा सकारात्मक सुझावसहित पारित गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संविधान सभा सदस्य विनोद पहाडीले नेपालका सीमान्तकृत वर्ग, समुदायको अधिकारको प्रत्याभूति दिलाउनु, न्यायमा पहुँच पुग्नु मानव अधिकारको सवाल रहेको बताउनुभयो । कोसिस नेपालका संस्थापक मातृका देवकोटाले विश्व अपाङ्गता शिखर सम्मेलन–२०२५ को पूर्वतयारीस्वरूप आयोजित दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताउनुभयो ।