काठमाडौँ, फागुन २० गते । त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलको पुस्तक ‘नेपालमा आमसञ्चार : समाचार र गैर–समाचार मिडियाको नालीबेली’ सार्वजनिक गरिएको छ ।
पौडेल दुई दशकभन्दा बढी समय नेपाली पत्रकारिताका सबै स्वरूप (छापा, रेडियो, टेलिभिजन र अनलाइन) मा निर्णायक तहमा रहेर काम गरेका अनुभवी व्यक्तित्व हुनुहुन्छ ।
पौडेलको पुस्तकमा नेपालमा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको प्रारम्भ र विकासका सम्बन्धमा विस्तृत जानकारी समेटिएको छ । पुस्तकमा विविध स्वरूप र प्रविधिको प्रयोगमाथिको राजनीतिक, सामाजिक, सांस्कृतिक प्रभावअनुसार विकसित नीतिगत र कानुनी प्रावधानहरूको चर्चा गरिएको छ । यसका साथै वृत्तचित्र र चलचित्रजस्ता विस्तारित पत्रकारिताका आयामहरू पनि पुस्तकमा समेटिएका छन् ।
पौडेल लिखित पुस्तक केही समयमै पाठकको हात पर्ने मण्डप पब्लिकेसन्सका राजकुमार गजुरेलले जानकारी दिनुभयो ।
उहाँको पुस्तक सोमबार त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको ‘क्यामेरा भवन’ भवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
सोही कार्यक्रममा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर : बिनिथ एन्ड बियोएन्ड दि बोर्डर्स’ को लोकार्पण त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, लेखक प्राध्यापक खरेल, डा. टंक उप्रेती र विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलले संयुक्तरूपमा अनावरण गर्नुभएको थियो ।