गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ आज एक समारोहबिच लोकार्पण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेल, डा. टङ्क उप्रेती, डा. श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
रेक्टर प्राडा. खड्ग केसीले प्राध्यापक खरेलको लेखकीय क्रियाशीलता, लगनशीलताबाट अरुलाई उत्प्रेरणा मिलिरहेको बताउनुभयो । प्राध्यापन पेशामा खरेल एक ‘आइकन’ रहनुभएको चर्चा गर्नुहुँदै रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा अनुशासनको पाठ सिकाउने विश्वास व्यक्त गर्नुभयो । अध्ययन, अध्यापनका लागि पुस्तक उपयोगी रहेको उहाँले चर्चा गर्नुभयो ।
लेखक तथा प्राध्यापक पी. खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताउनुभयो । आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरु प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तकहरु प्रकाशन गर्नेगरेको उहाँले चर्चा गर्नुभयो । पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित भएको बताउनुभयो । नयाँ कृति पाठकका लागि प्रेरणाको स्रोत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विभागका डा. घमराज लुइटेल, डा. देवराज अर्याल, डा. ऋषिकेश दाहालसहित सो विभागमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । कुल २९५ पृष्ठको सो पुस्तकमा आठ च्याप्टर छन् । पुस्तकको प्रकाशन मण्डप पब्लिकेशन हाउसले गरेको हो ।