काठमाडौँ, फागुन १८ गते। सरकारले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमा १५ लाख योगदान गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालले कोष स्थापना भएदेखि पहिलो पटक योगदान गरेको जानकारी दिनुभयो। योगदानले भविष्यमा आउने विपद्को पूर्व तयारी तथा प्रतिकार्य अवस्थामा पनि सहायक सिद्ध हुने आशा गरिएको डा. बुढाथोकीको भनाइ छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सदस्य राष्ट्रलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी गर्न र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्न दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष स्थापना गरेको हो।
उक्त कोषले प्राकृतिक प्रकोपको जोखिममा परेको बेला नेपालले सन् २००८ को कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ को जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा सहयोग गरिसकेको छ।
डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको इमर्जेन्सी मेडिकल सम्मेलनले मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सन् २०२४ देखि २०२६ सम्मका लागि सहअध्यक्ष रूपमा निर्वाचित हुनुभएको छ।
स्वास्थ्य सेवा प्रतिकार्य समन्वय गरी जीवनरक्षक सेवा प्रदान गर्न, स्वास्थ्यकर्मीको टोली परिचालन गरी अपाङ्गताको जोखिम न्यूनीकरण गर्न, सम्भावित महामारीको रोकथाम तथा नियन्त्रण गर्न र अस्थायी स्वास्थ्य सेवा केन्द्र स्थापना गरी अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने उक्त कोषको लक्ष्य रहेको छ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीले यस क्षेत्रका धेरै देशलाई असर पारेपछि डब्लुएचओको अगुवाइमै आपतकालीन कोष स्थापना गरिएको थियो। हालसम्म यो कोषबाट यस क्षेत्रका १० देशमा ४९ वटा आपतकालीन अवस्थाका लागि ७० करोड रुपियाँ भन्दा बढी खर्च गरेको डब्लुएचओले जनाएको छ।