• १९ फागुन २०८१, सोमबार

हुम्लामा 'एचपिभी' खोप अभियान सुरु

blog

बालमन्दिर खोप केन्द्रमा खोप अभियानको शुभारम्भ कार्यक्रममा सहभागी किशोरीहरू र खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, फागुन १८ गते । हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियानको सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले निर्धारित खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयंसेवक पुगेपछि आइतबारबाट खोप लगाउन सुरु भएको हो ।

स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकित्सक प्रतीक्षा भारतीले एचपिभी खोप अभियान जिल्लाका सातमध्ये दुई वटा गााउँपालिकामा सुरु भएको बताउनुभयो । आइतबार सुरु भएका गाउँपालिकामा सिमकोट र अननचुली गाउँपालिका रहेका छन् । सिमकोट गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरिएको थियो । 

खोप लगाउने कार्यमा स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतीक्षा भारतीको पनि सहभागीता रहेको थियो । सो शुभारम्भ कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुखख ददल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया लगायतले निर्धक्क र बिना डर खोप लगाउन लक्षित वर्गका किशोरीहरूलाई आग्रह गर्नुभयो । खोप लगाउने किशोरीहरूलाई एक दाना सुन्तलाको व्यवस्था पनि स्वास्थ्य सेवा कार्यालयले गरेको थियो । 

देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको थियो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको कारण विद्यालयसमेत बन्द रहेको कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन भएको हो । किशोरीहरूलाई खोप लगाउनका लागि तीन हजार ७८० भाइल खोप जिल्लामा आइपुगेको र सो भ्याक्सिन खोप केन्द्रतर्फ ढुवानी भइसकेको थियो । 

विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई सो खोप लगाउन लागिएको छ भने विद्यालयमा अध्ययन गर्ने कक्षा छ देखि दससम्मका किशोरीले पनि यो खोप लगाउने कार्य सुरु भएको छ । तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सुरु भएको हो । 

विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । जिल्लाका सात वटा गाउँपालिकाहरूमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन भएको छ । जिल्लाको छ वटा गाउँपालिकामा फागुन १८ देखि २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुनेछ । 

उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको २० गतेदेखि २०८२ सालको वैशाख ७ गतेसम्म उक्त खोप अभियान सञ्चालन हुनेछ । 

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरी, सिमकोट गाउँपालिकाका बीस खोप केन्द्रबाट ७५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट ३६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६, चङ्खेलीमा सात खोपबाट ३३१, अदानचुलीमा दस खोप केन्द्रबाट ६०७ र ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन भएका छन् ।यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।