• १७ फागुन २०८१, शनिबार

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक

blog

निर्माणाधीन अवस्थामा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन गरिँदै ।

भैरहवा समाचारदाता

भैरहवा, फागुन १७ गते । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । विसं २०६६ मा रुपन्देहीको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना निकै सुस्त गतिमा अघि बढेको हो । सडक निर्माण सुरु भएको १५ वर्षमा जम्मा १८ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजना कार्यालयका अनुसार कुल १९७ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म १८ किलोमिटर पिच भएको हो । यो सडकको १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ भने बाँकी १८२ किलोमिटर सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले निर्माण गर्नुपर्ने छ ।

सालझन्डीको कञ्चनखोलामा पाँच किलोमिटर र अर्घाखाँचीमा १४ किलोमिटर सडक पिच भएको आयोजनाले जनाएको छ । ७० किलोमिटर पिच गर्न विभिन्न चार ठाउँमा बहुबर्से ठेक्का लगाएर ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

आयोजना प्रमुख गागलबहादुर भण्डारीले सरकारले आवश्यक बजेट विनियोजन नगर्दा पिचको काम कम देखिएको बताउनुभयो । पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपन, अर्घाखाँचीको सन्धिखर्कमा स्थानीयसँग विवादलगायतका कारण सुस्त गतिमा काम अघि बढेको उहाँले बताउनुभयो । आयोजना अन्तर्गत रुपन्देहीमा पाँच किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङ जिल्लामा ५० किलोमिटर सडक पर्छ ।

लुम्बिनी र गण्डकी प्रदेशका गरी पाँच जिल्लालाई छुने यो सडक निर्माणको काम विभिन्न ठाउँमा भइरहेको छ । पाल्पाको खुसार्नेदेखि अर्घाखाँचीको पटौटीसम्म २२ किलोमिटर पिच गर्न ठेक्का सम्झौता भएको छ । पाल्पाको खुसार्नेदेखि कन्चनखोलासम्म १३ किलोमिटर पिचको ठेक्का भएको छ । गुल्मीको पुर्कोटदहदेखि अर्खावाङसम्मको १९ किलोमिटर, गुल्मीको सिर्सनीदेखि गर्गरसम्म सात किलोमिटर, अर्घाखाँचीको माटे भण्डारादेखि गुल्मीको पुर्कोटदह सिर्सेनीसम्म २६ किलोमिटर बहुबर्से ठेक्काका आधारमा काम भइरहेको छ । 

उक्त परियोजनामा पुलका लागि पाँच लाख रुपियाँ मात्रै बजेट विनियोजन भएको छ । पछिल्लो समय मदन भण्डारी लोकमार्गसमेत जोडेर हेर्दा कुल १९७ किलोमिटरमध्ये १० वटा पुल निर्माण गर्नुपर्ने भए पनि आठ वटा निर्माण भएको उक्त सडक परियोजनाकी सूचना अधिकारी कृष्टिना

थापाले बताउनुभयो । यो सडक निर्माण भएपछि अर्घाखाँचीबाट बुटवल आउन २७ किलोमिटर दुरी कम पर्छ । यस्तै बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा पनि छोटो हुने छ । यो सडक निर्माण भएपछि लुम्बिनी आएका पर्यटकलाई नेपालको एक मात्र सिकार आरक्ष बागलुङको ढोरपाटनमा लैजान सकिने बुटवलका पर्यटन व्यवसायी माधव नेपालले बताउनुभयो ।

आठ अर्बको डिपिआर भएको सडक निर्माणमा ढिलाइसँगै लागत पनि बढ्दै गएको छ । सडक परियोजनाको बजेट ११ अर्ब पुग्ने आयोजना प्रमुख भण्डारीको भनाइ छ । यो आयोजनाका लागि पछिल्लो पाँच वर्षमा दुई अर्ब तीन करोड २१ लाख रुपियाँ खर्च भएको छ ।