• १४ वैशाख २०८२, आइतबार

बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी

blog

बैतडीमा बिहीबार रातिदेखि अविरल झरी र हिमपात भइरहेको छ । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 

बैतडी, फागुन १६ गते । बैतडीलगायत सुदूरपश्चिचमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको छ ।

गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी नपरेको डिलाशैनी गाउँपालिका कृषक तिलकबहादुर मालले बताउनुभयो । यस्तै हिउँसँगै लगातार पानी परिरहेकोले चिसो बढेर दैनिक जनजीवन प्रभावित भएको छ । चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन् । सडक तथा बाटोमा पनि यात्रुको आवागमन कमै छ । 

बैतडीका कृषकहरुको मुख्य हिउँदे बाली गहुँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । पानी परेपछि अन्न, फलफूल, जडिबुटी, पशुपालन फस्टाउने मेलौली नगारपालिका २का कृषक देवदत्त भट्टले बताउनुभयो । 

हिमपातसँगैको पानीले कृषक र माटोलाई ठूलो फाइदा पुर्‍याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउने दशरथचन्द नगरपालिका कार्यालयका कृषि प्राविधिक दीपक कार्कीले बताउनुभयो । 

हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिने भएकाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुग्ने र यसले रोग र कीरा नियन्त्रणमा पनि सहयोग पुर्‍याउनुका साथै भूसंरक्षणमा पनि योगदान पुग्ने कार्कीले बताउनुभयो । हिमपात र पानीले नदी, इनार, पोखरी र खेतीयोग्य जग्गामा पानीको मात्रा बढाउँछ, जसले सिंचाइका लागि पर्याप्त पानी उपलब्ध गराउँछ। ढिलो गरी पानी र हिउँ परे पनि स्याउ, ओखर र गहुँ, जौ, तोरीलगायतका बाली र फलफूल खेतीमा उत्पादन राम्रो हुने भएकाले कृषक खुशी भएको सिगास गाउँपालिका ३ का रामचन्द्र ऐरीले बताउनुभयो ।

पानी र हिमपातले माटोको उर्वरा शक्ति बढाउने, हानिकारक कीरा नियन्त्रण गर्ने गर्नुका साथै बालीको उत्पादनमा सुधार हुने कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताउनुभयो ।