चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान ठप्प भएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा समस्या आएका कारण सुकेटार विमानस्थलमा उडान ठप्प भएको हो ।
पछिल्लो समय सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको उडान हुने गरेको थियो । गत पुस महिनायता भने सुकेटारमा उडान हुने ट्विनअटर जहाजमा समस्या आएपछि उडान ठप्प भएको हो ।
ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायण कार्कीका अनुसार गत मङ्सिर २८ गतेदेखि सुकेटारमा उडान ठप्प भएको छ ।
इन्चार्ज कार्कीले मङ्सिर २८ पछि पुस ५ गतेका लागि उडान तालिका रहेकोमा उक्त दिनको मौसम प्रतिकुल हुँदा उडान सफल हुन सकेको बताउनुभयो । उहाँका अनुसार पुस ५ गते काठमाडौंदेखि यात्रु लिएर सुकेटारका लागि उडेको जहाज खराब मौसमका कारया अवतरण हुन नसकी काठमाडौं नै फर्किएको थियो । अझै उडान सञ्चालन हुने विषय अनिश्चित रहेको पनि उहाँले बताउनुभयो ।
देशका पहाडी तथा हिमाली जिल्लामा रहेका विमानस्थलहरुमा उडान भर्ने निगमको दुई वटा ट्विनअटर जहाजमा समस्या आएपछि उडान ठप्प भएको हो । जहाज पुरानो भएकाले समस्या आएको बताइएको छ ।
कार्कीका अनुसार निगमसँग भएको ट्विनअटर जहाजमा समस्या आएपछि गत पुस ७ गतेदेखि ताप्लेजुङको सुकेटार विमानस्थलसहित देशभर उडान ठप्प भएको छ । ग्राउन्डेड भएको जहाजको हाल मर्मत तथा सामान परिवर्तन गर्ने काम भइरहेको पनि निगमले जनाएको छ ।
सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायु सेवा निगमले हप्तामा एक दिन प्रत्येक शुक्रबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सञ्चालन गर्दै आएको थियो । निगमको उक्त उडान पनि अढाइ महिनादेखि ठप्प हुँदा यात्रु मारमा परेका छन् ।
उडान नहुँदा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारण यात्रुले हवाई सेवाबाट बञ्चित हुनुपरेको छ । अब मर्मत सम्भारपछि हाल ग्राउन्डेड रहेको ट्विनअटर दुवै जहाज सञ्चालनमा आए हप्तामा तीन उडान हुनसक्ने पनि स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।