हरि काेइराला
उर्लाबारी, फागुन १४ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ । बुधबार कार्यक्रम आयोजना स्थल तमु बौद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १६ देखि २० गतेसम्म पाँच दिन ललितकला प्रदर्शनी हुने जानकारी दिइएको हो ।
प्रादेशिक ललितकला प्रदर्शनी मूल आयोजक समितिका संयोजक प्राज्ञ सञ्जय बान्तवाका अनुसार प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका१८६ जना कलाकर्मीले २२१ वटा विभिन्न विधाका सिर्जना प्रदर्शन तथा बिक्रीका लागि राख्नुहुनेछ । जसमा १८ वटा परम्परागत मूर्तिकला,समसामयिक चित्रकला १२० वटा, परम्परागत चित्रकला ५ वटा ,हस्तकला ३५ वटा,१६ वटा फोटोग्राफी र २८ वटा लोककला प्रदर्शनी गरिनेछ ।यस्तै मैथिली ,सन्थाल,धिमाल,राजवंशी ,खवास जातिको लोककला प्रदर्शनी गरिनेछ ।
कार्यक्रममा सिर्जनात्मक कला तथा प्रतिस्थापन कला,वास्तुकला,भावभङ्गी कला प्रदर्शनी हुनेछ ।विभिन्न विधामा उत्कृष्ट हुने सिर्जनालाई नगद ३० हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै प्रदर्शनी अवधिमा सर्वोत्कृष्ट भएको सिर्जनालाई ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।पुरस्कार पाएका सबै सिर्जनाहरूले ललितकला प्रतिष्ठानले काठमाडौंमा आयोजना गर्ने केन्द्रीय प्रदर्शनीमा भाग लिन पाउनेछन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
पाँच दिनमा १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुनेछ । कार्यक्रममा फागुन १७ गते नेपाल, भारत, बङ्गलादेशका कलाकारले प्रत्यक्ष रुपमा चित्र बनाएर प्रदर्शनी गर्नेछन् ।