राधा लुइटेल
फिदिम,फागुन १४ गते। हेलिप्याड नहुँदा विपद्जन्य घट्नामा राहत र उद्वारका लागि कठिनाइ भोगिरहेको पाँचथरको फालेलुङ गाउँपालिकामा नाइट ल्याण्डिङ सुविधासहितको हेलिप्याड निर्माण भएको छ।
नेपाली सेनाको फिदिमस्थित रणशेर गणले फालेलुङ ६ ओगेम्बा स्थित बरभञ्ज्याङ नजिकै निर्माण गरेको हेलिप्याड सेना दिवस तथा महाशिवरात्री पर्वको अवसर पारेर बुधबार स्थानीयलाई हस्तान्तरण गरेको हो। ८ वटा वडा रहेको यो गाउँपालिकामा यसअघि एउटा पनि हेलिप्याड थिएन।
यसअघि पटकपटक आएको बाढी पहिरो र आगलागी लगायत विपदका घट्नामा राहत र उद्धार गर्न कठिनाइ भएपछि स्थानीयले हेलिप्याडका लागि जग्गा उपलब्ध गराएर नेपाली सेनासँग निर्माण गरिदिन आग्रह गरेका थिए।
स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै रात्रिकालीन अवतरण ‘नाइट ल्याडिङ’ सुविधासहि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिएको रणशेर गण फिदिमका प्रमुख सेनानी निरजप्रताप राणाले जानकारी दिनुभयो।
हेलिप्याड निर्माण भएसँगै सम्भावित विपदमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिक, प्रसव पीडाको जोखिमबाट हुने न्यूनीकरणमा सहज हुने स्थानीयको अपेक्षा छ।
जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले फालेलुङ गाउँपालिकालाई बाढी–पहिरो र आगलागी लगायतका विपद्जन्य घट्नाको जोखिमयुक्त सूची राखेको छ।
गत असोज महिनाको ९ देखि १२ गतेसम्म भएको अविरल झरीसँगै गएको बाढी र पहिरोले यो गाउँपालिकाका तीन सयभन्दा धेरै नागरिक विस्थापित भएका छन् भने २ जनाले ज्यान गुमाएका थिए।
यसअघि २०८० र २०७५ सालमा गएको बाढी पहिरोबाट समेत यहाँ ठुलो परिमाणमा धनजनको क्षति भएको थियो।
बाढी पहिरोको जोखिमका कारण सडक अवरुद्व हुँदा गत असोज महिनामा प्रसव पीडाले छट्पटाइरहेका फालेलुङ–३ का २ जना महिलालाई उद्धार गर्न आएको हेलिकोप्टर अवतरण गर्न कठिनाइ भएको थियो। गाउँपालिकाका नागरिकले व्यवस्थित हेलिप्याडको आवश्यकता महसुस गरेको फालेलुङ–६ का वडाध्यक्ष अमरवीर राईले बताउनुभयो।
हेलिप्याड निर्माण गर्न रणशेर गणबाट खटेका १४ जना सैनिकले निरन्तर ११ दिन श्रमदान गरेका थिए। हेलिप्याड हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा उपस्थित स्थानीयले हेलिप्याड निर्माणमा जुट्ने सैनिक कर्मचारीसँगै निर्माण प्रक्रिया सहयोग पुर्याउने नेपाली सेनालाई धन्यवाद दिए। रणशेर गणले यसअघि जिल्लाको मिक्लाजुङ –३ आरुबोटेको संक्रान्ते भन्ने स्थानमा पनि हेलिप्याड बनाएर स्थानीयलाई हस्तान्तरण गरेको थियो।