सन्तोष राउत
सोलुखुम्बु, फागुन १४ गते । मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरूको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरूको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।
विभिन्न वडाका स्वास्थ्य संस्थाहरूबाट आएका स्वास्थ्यकर्मीहरूलाई जिल्ला अस्पताल फाप्लुका डा. श्रेया पंगेनी र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङले महामारीजन्य रोगहरूको प्रकार, कारण तथा रोकथामका उपायहरूको बारेमा जानकारी गराउनुभएको छ ।
नगरपालिकाभरिका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रमका क्रममा महामारीजन्य तथा प्रकोपजन्य रोगहरूको सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि नगरप्रमुखको संयोजकत्वमा पाँच सदस्सीय द्रुत प्रतिकार्य समिति र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङको संयोजकत्वमा ११ सदस्सीय द्रुत प्रतिकार्य टोली गठन गरिएको सोलुदूधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास तामाङले जानकारी दिनुभयो ।
नगर प्रवक्ता फुर्वाग्याल्जेन शेर्पाले नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा सक्षम जनशक्ति पर्याप्त रहेकाले जनतालाई दिने स्वास्थ्य सेवामा कुनै कमी नहुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मीहरूले आफ्नो दक्षता वृद्धि गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो ।
स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र भएकाले न्यूनतम मापदण्ड पूरा गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न लाग्नुपर्ने सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो । पानीका कारण पनि विभिन्न महामारीजन्य रोग लाग्ने भएकाले नगरपालिका पिउने पानीको परीक्षण गर्ने तयारीमा समेत लागेको उहाँले जानकारी दिनुभयो। हालसम्म दुई वटा वडाको पानी परीक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख रामनारायण साहले कुनै पनि स्वास्थ्य समस्यामा सहयोग तथा सहकार्य गर्न स्वास्थ्य कार्यालय तयार रहेको बताउनुभयो ।
यसै साता नगरपालिकाभित्रको एक विद्यालयमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय बन्द गरी सोलुदूधकुण्ड नगरपालिकाको अगुवाई तथा जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा विद्यालयमा भएको स्वास्थ्य शिविरबाट १७२ जना विद्यार्थी तथा अन्यको चेक जाँच गरिएको छ । मौसममा आएको परिवर्तनका कारण नगरपालिकाका अन्य विद्यालयमा समेत रुघाखोकी र ज्वरोका बिरामीहरू बढ्दै गएको बताइएको छ ।