• १४ फागुन २०८१, बुधबार

कानेपोखरी गाउँपालिकाको प्रशासनिक सेवा भौंसावारीबाट

blog

हरि कोइराला

उर्लाबारी, फागुन १४ गते । मोरङको कानेपोखरी गाउँपालिकाले बिहीबारदेखि प्रमुख प्रशासनिक सेवा वडा ५ को वडा कार्यलय भौंसावारीबाट दिने भएको छ । साविक वयरवन गाविसको कार्यालयबाट दिँइदै आएको सेवा भौंसावारीबाट दिन लागिएको हो ।

महाशिवरात्रि पर्वको अवसर पारेर गाउँपालिकाले प्रशासनिक सेवा दिने स्थान परिवर्तन गरेको हो । पालिका अध्यक्ष राजमति इङ्नामले बिहीबारबाट नियमित सेवा प्रवाहका लागि बुधबार कार्यालय सारिएको बताउनुभयो । हाल पालिका सरेको भवनमा यसअघि ५ नं. वडा कार्यालय रहेको थियो । ५ नम्बर वडा कार्यालयलाई अब अन्यत्र व्यवस्थापन गरिने भएको छ । 

२०७२ सालमा राज्यपुनर्संचना हुँदा कानेपोखरी गाउँपालिकाको सेवा तत्कालिन वयरवन गाविसको भवनबाट सञ्चालन गर्ने निर्णय भएको थियो । वयरवन, केरौन र होक्लावारी गाविस मिलेर बनेको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन पालिकाको एकछेउमा रहेको भन्दै मध्यभागमा स्थान्तरणको माग उठेको थियो । सोही अनुसार कानेपोखरी गाउँपालिकाले वडा नं. ५ को भौंसावारीमा एक विघा पाँच कट्ठा जग्गा खरिद गरेको थियो । 

जग्गा खरिद गरेपनि भवन निर्माणको प्रक्रिया अघि नबढ्दै प्रशासनिक भवन वडा कार्यालयमा सारिएको छ । सङ्घीय मन्त्री परिषदले २०८१ पुस १६ गते कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्न स्वीकृति दिएको थियो । 

यसअघि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा (३) बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले प्रशासनिक भवन सार्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मन्त्री परिषदले स्वीकृति प्रदान गरेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो ।