• १४ फागुन २०८१, बुधबार

फागुन १५ देखि उर्लाबारी महोत्सव

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, फागुन १४ गते । उर्लाबारी उद्योग वाणिज्य संघले फागुन १५ गतेदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।

महोत्सवस्थल उर्लाबारी –४ मा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवका विषयमा जानकारी गराएको हो । महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईका अनुसार औद्योगिक, कृषि, अट्टोमोवाइल्स, घरेलु उत्पादनका १३५ वटा स्टल रहने छन् । 

उर्लाबारीको सौन्दर्यकरणसँगै आगो निभाउने रिफिल ब्यवस्थापनका लागि खर्च ब्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । 

१५ करोडको ब्यापार हुने र २० लाख आम्दानी गर्ने महत्वकांक्षी लक्ष्यसाथ सुरु हुन लागेको महोत्सवका एघारै हरेक साँझ साङ्गितिक कार्यक्रम आयोजना हुनेछ । झण्डै ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको महोत्सवको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुनेछ । 

समापन उद्योग, कृषि तथा सहकारीमन्त्री खगेन्द्र हाङ्गामले गर्नुहुने आयोजकले जनाएको छ । दिउँसो निःशुल्क र साँझ १५० रुपियाँ शुल्क तोकिएको महोत्सवमा कडा सुरक्षाको प्रबन्ध मिलाइएको संघका अध्यक्ष तारामान सेरेङले बताउनुभयो । सेरेङले भन्नुभयो, “गतवर्ष उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागीमा परी पाँच जनाको निधन भयो ।”

आगामी दिनमा मानवीय क्षति नहोस् भनेर ग्यास भर्ने रिफिल खरिदका लागि महोत्सवको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । अध्यक्ष सेरेङले महोत्सवले स्थानीय ब्यापार र कृषि उद्यमीलाई प्रबर्धन गर्ने दाबी गर्नुभयो ।