जुम्ला समाचारदाता
जुम्ला, फागुन १४ गते । नेपाली भाषाको उद्गम स्थल जुम्ला सिँजाको कनकासुन्दरी मन्दिर जाने भैँसेडीमा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । कनकासुन्दरी मन्दिरसहित सिँजा गाउँपालिकामा रहेको कनकासुन्दरी मन्दिरमा अवलोकन गर्न मानिसहरू गाडीमा पुग्ने भएका छन् । पुल निर्माणपछि सिँजा गाउँपालिका र गुठीचौर गाउँपालिका जोडिएका छन् ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहका अनुसार २०७९ असार २९ गते सम्झौता भएको कनकासुन्दरीको भैँसेडी पुल चार करोड ३२ लाख ६३ हजारको लागतमा सुरु भएको थियो । ३० मिटर लम्बाइको सो पुल निर्माणपछि निकै सहज भएको छ । स्थानीय सड्क पुल एकाइ प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारी परमानन्द आचार्यका अनुसार सो पुल गुणस्तरीय निर्माण भएको छ ।
उहाँका अनुसार गुठीचौर गाउँपालिका जोड्ने पक्की पुलसमेत निर्माण सम्पन्न भएको छ । तीन करोड ७६ लाख ३५ हजार २९७ रुपियाँको लागतमा पुल निर्माण भएको छ । कार्यालयका अनुसार २५ मिटरको सो पुल ९८ प्रतिशत काम सम्पन्न भइसकेको र अब सुचारु गर्ने तयारी भइरहेको छ ।
कनकासुन्दरी जोड्ने पुल बनेपछि वडा नं. ४ का गाउँबस्तीमा सजिलो भएको छ । वडाध्यक्ष धनमानसिंह हमालका अनुसार पुल जोडेपछि साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट, सदरमुकाम आउनसमेत सजिलो भएको छ । त्यो बाटो जुम्ला सदरमुकाम जोड्ने छोटो बाटो पनि हो तर भित्र गाउँमा जाने रकम अभावले बनिरहेको छैन । खलङ्गा आउन निकै सजिलो भएको छ । मुगुमा जान पनि छोटो बाटो हुने भएको छ ।
यसैबिच पूर्वाधार कार्यालयका अनुसार जुम्लाका चार वटा पुल टेन्डर प्रक्रियामा गएका छन् । पातारासी गाउँपालिकाको लुम पुल, कनकासुन्दरीको न्याउरीगाडको पुल टेन्डर आह्वान भई कामको प्रक्रियामा अगाडि बढेका छन् । ४० मिटर लम्बाइ भएको पातारासीको लुम पुलको लागत पाँच करोड ६४ लाख चार हजार रहेको छ । लुम पुलका लागि यस वर्ष एक करोड ५० लाख रुपियाँ विनियोजन भएको छ ।
कनकासुन्दरी गाउँपालिकाको न्याउरीगाडमा पनि पक्की पुल निर्माणका लागि अगाडि बढेको छ । पूर्वाधार कार्यालयका अनुसार २५ मिटर लम्बाइ भएको उक्त पुलको लागत पाँच करोड ४५ लाख ८६ हजार रहेको छ । लुम र न्याउरीगाड पुल एमएस–एनएस–एमएनएस–एमसी जेभीले कामको जिम्मा लिएको छ । यसका साथै हिमा गाउँपालिकाको मोफ्ला जोड्ने बेलिब्रिज पुल पनि टेन्डरमा गएको छ । सो पुलका लागि यस वर्ष ९० लाख बजेट विनियोजन भएको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । यसै गरी उमगाडमा पनि बेलिब्रिज टेन्डरमा गएको कार्यालयले जनाएको छ ।