बाबुराम देवकोटा
भिमान (सिन्धुली), जेठ १६ गते । कमलामाइ नगरपालिका–९ भिमान निवासी तेजप्रसाद घिमिरेलाई कमलाखुँज छिर्न चुरे जङ्गल छिचोल्दा अत्यास लाग्थ्यो । एकाध बाहेक खहरे थिएनन् । दुई दशक अघिसम्म चुरे जङ्गल चारकोशे झाडी जस्तै देखेका घिमिरेले हेर्दाहेर्दै नाङ्गो भएको छ । यो बीचमा सयौं नयाँ खहरेहरु चुरेबाट निस्किएका छन् ।
‘भिमानबाट रानीबास पुग्न दुई घण्टाको पैदल बाटोमा चार÷पाँचवटा खहरे खोला थिए,’ उहाँले भन्नुभयो, ‘अहिले २० वटाभन्दा बढी नयाँ थपिएका छन् । चुरेबाट नयाँ खहरे बन्नुको कारण भनेको वन कटानी र फँडानी नै भएको उहाँको निष्कर्ष छ ।’
उहाँले थप्नुभयो, ‘ढलापडा सुख्खड खडा’ का नाममा चुरे जङ्गलबाट धमाधम सालका रुखहरु कटान गर्न थालेपछि ट्याक्टर जङ्गल छिर्न थाले, सालका गोलिया पाखै बग्ने गरी झार्न थालियो । घाटगद्धी भन्दै चुरेको खुकुलो जमिन चलाएपछि वर्षामा सबै बग्यो ।’ त्यँहीबाट नयाँ खहरेले जन्मलिएर अहिले विनाश निम्त्याएको घिमिरेको ठहर छ । हिउँद महिनामा दोहन, कटान र फँडानी हुने भएकाले बर्सेनि वर्षाको मौसममा नयाँ खहरे जन्मेर विनाश गर्दै आएको उहाँको बुझाइ छ ।
जङ्गल विनाशसँगै वर्षाको मौसममा जन्मिने नयाँ खहरेले बस्ती तथा खेतबारीमा क्षति पु¥याउने भएपछि चुरे जङ्गलको छेउछाउमा बस्ने बासिन्दामा चिन्ता छाएको छ । कमलाखुज र मरिण क्षेत्रमा चुरे जङ्गलको विनाशले बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको छ । सुकुम्बासीका नाममा वर्षेनी बढ्दै गएको चुरे अतिक्रमण र काठ चोरी निकासीका कारण खहरेखोला बढ्न गएर समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।
दुधौली नगरपालिकाका प्राविधिक सहायक हेरम्बराज अधिकारी खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिनलाई क्षति पु¥यायो, त्यसको लगत कुनै पनि निकायसँग नभएको बताउनुहुन्छ । जङ्गल विनाश गर्नुहुँदैन भन्ने स्थानीय उपभोक्तामा चेतनाको अभाव रहेको तथा त्योभन्दा बढी त समय–समयमा तस्करले जङ्गल फँडानी गरी अवैध रुपमा काठ लाने गरेकाले समस्या बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।
कमला नदी र खहरेले आफ्नो भएको जग्गा बगरमा परिणत गराएपछि जङ्गल फडानी गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको छ । रानीबासको चन्दनपुरमा जङ्गल फँडानी गरेर बस्ती नै बसालिएको स्थानीय बासिन्दा बताउँछन् ।
डिभिजन वन कार्यालय सिन्धुलीको एक तथ्याङ्कअनुसार जिल्लामा चुरे जङ्गलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर छ । यो मध्ये एक लाख हेक्टर जङ्गल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ । चुरे जङ्गलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भइसकेको छ ।