चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी गरिएको हो ।
सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युुुत् आयोजना निर्माण गरिएको हो । विद्युत् उत्पादनको तयारीसँगै गएको बुधबारदेखि आन्तरिक परीक्षण सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाका अनुसार बाँध, सुरुङ, विद्युत् गृह, प्रशारण लाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण गरिँदै छ ।
उहाँले बुधबार र बिहीबारसम्ममा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली आइपुग्ने र प्राधिकरणका प्राविधिक टोलीको परीक्षणपछि आयोजनाको औपचारिक उत्पादन सुरु हुने बताउनुभयो । आयोजनाको विद्युत् गृह सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ । ओथम्मादेखि पाँचथर, हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युुत् प्राधिकरणको १३२ केभिए क्षमताको सब स्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।
सम्पर्क अधिकृत ढुङ्गानाका अनुसार आयोजना निर्माणको लागत दुई अर्ब १४ करोड ३८ लाख रुपियाँ रहेको छ । प्रवर्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबी बैँक लिमिटेड र राष्ट्रिय वाणिज्य बैँकको लगानी रहेको आयोजनाले जनाएको छ । २०८१ चैत १० भित्र निर्माण गरी सक्नेगरी २०७९ पुस २५ गतेदेखि सुरु गरिएको आयोजनाको काम एक महिना अगावै सम्पन्न भएको पनि सम्पर्क अधिकृत ढुङ्गानाले बताउनुभयो ।