• १३ फागुन २०८१, मङ्गलबार

थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त

blog

गार्डेन राई

सोलु, फागुन १३ गते । बाढीले बगाएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएकाे छ । थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हाे । 

गाउँपालिकाको अनुरोधमा स्थानीय निमा सेर्पिनीले निःशुल्क जग्गा प्रदान गर्नुभएको हो । गत साउन ३१ गते गएको हिम पहिरोका कारण आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले स्वर्गीय श्रीमान् साङ्गेछोतर शेर्पाको सम्झनामा निःशुल्क जग्गा प्रदान गर्नुभएको खुम्बुपासाङल्हामु गाउँपालिका-४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

थामे क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पुनः सुचारु गर्नका लागि करिब ३५ लाख मूल्य बराबरको १ सय ३० वर्ग मिटर जग्गा हिमालयन ट्रस्ट नेपालको नाममा मालपोत कार्यालय सोलुखुम्बु मार्फत निःशुल्क रूपमा राजीनामा गरी हस्तान्तरण गरेको जग्गादाता स्थानीय निमा सेर्पिनीले बताउनुभयो । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा रहेको हिमालयन ट्रस्ट नेपाल अन्तर्गतको खुम्दे हस्पिटलद्वारा सञ्चालित थामे स्वास्थ्य चौकी गत साउन ३१ को बाढीले पूर्ण रूपमा क्षति भएको थियो। 

थामे स्वास्थ्य चौकी बाढीले बगाएपछि हिमालयन ट्रस्टले घर भाडामा लिई अस्थायी रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको हिमालयन ट्रस्ट नेपालका संस्थापक सदस्य समेत रहनुभएका डा. कामी तेम्बा शेर्पाले जानकारी दिनुभयो ।

निमा शेर्पाबाट प्राप्त जग्गामा हिमालयन ट्रस्टले नयाँ स्वास्थ्य चौकी निर्माण गरी पुनः स्वास्थ्य सेवा निःशुल्क रूपमा सुचारु गर्ने योजना रहेको उहाँले बताउनुभयाे । 

स्वास्थ्य चौकी पुन निर्माणका लागि करिब एक करोड बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको डा शेर्पाको भनाइ छ। थामे स्वास्थ्य चौकीमा महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका लगायतलाई हिमालयन ट्रस्ट नेपालले निःशुल्क रूपमा प्राथमिक उपचार गर्दै आएको थियो ।