• १९ असार २०८१, बुधबार

राष्ट्रिय गौरवको आयोजना प्राथमितामा

सिक्टा सिँचाइ आयोजनामा एक अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन, ३३ करोड वृद्धि

blog

सिक्टा सिँचाई आयोजनाको अगैयास्थित मुख्य बाँधस्थल । तस्विर - सिराज खान

सिराज खान 

नेपालगञ्ज, जेठ १६ गते । सरकारले बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । 

सो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा खर्च गर्ने गरी एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभएको बजेटमा पश्चिम नेपालको बहुप्रतिक्षित सो आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । 

आयोजनाका प्रमुख सन्तोष कैनीले गत आर्थिक वर्षमा सो आयोजनाका लागि एक अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३३ करोड रुपियाँ थप गरेर एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो । 

उहाँले सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट वृद्धि गरेको जनाउँदै बजेटलाई आयोजनाको निर्माण कार्य पूरा गर्नमा तीव्ररुपमा खर्च गरिने बताउनुभयो । 

सरकारले विनियोजन गरेको सो बजेट आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको निर्माण र गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्नमा खर्च गरिने आयोजना प्रमुख कैनीले बताउनुभयो । 

उहाँले यसका साथै क्रमगत रुपमा सञ्चालन हुँदै आएका आयोजनाका काममा पनि सो बजेट खर्च गरिने जनाउनुभयो । 


आगामी आर्थिक वर्षमा पूर्वी मूल नहरको नरैनापुरसम्मको ४४ देखि ५३ किलो मिटरको अध्ययनलगायत गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्ने र पश्चिमी तथा पूर्वी मूल नहरको निर्माण र मरम्मत तथा सिँचित क्षेत्र बचावटलाई प्राथमिकतामा राखिने आयोजनाले जनाएको छ ।  

बजेट बढाइएपछि किसान उत्साहित

सरकारले आगामी आर्थिक वर्षका लागि सिक्टा सिँचाइ आयोजनामा गत आर्थिक वर्षभन्दा ३३ करोड रुपियाँ बजेट बढाएपछि राप्तीपारिका किसानहरु उत्साहित भएका छन् । 

मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहरको ५३ किलोमिटर क्षेत्र मध्ये ३८ किलोमिटर क्षेत्रसम्म नहरका स्ट्रक्चरहरु निर्माण भैसकेको र नहर फिनिसिङको काम भैरहकाले बजेट वृद्धिबाट काम छिटो हुने उनीहरुको भनाइ छ । 

राप्तीसोनारी गाउँपालिकाका किसान नरेश चौधरीले सरकारले सिक्टा सिँचाइको बजेट वृद्धि गरेर आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेकाले आफूहरु उत्साहित भएको बताउनुभयो । 

उहाँले छिट्टै आयोजनाको पानी खेतबारीमा पुग्ने आशा पनि किसानहरुमा पलाएको बताउनुभयो । 

सिक्टाको बजेट वृद्धि गरेर सरकारले नरैनापुरका किसानलाई ध्यानमा राखेको देखिएको नरैनापुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । 

यसअघि नै मुख्य बाँधस्थल अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण पूरा गरेर सो नहरमा पानी बगाइएको छ । उक्त नहरबाट करिब ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । 

बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १५ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।