हुम्ला समाचारदाता
हुम्ला, फागुन १३ गते । जिल्लाभर सोह्र वटा झोलुङ्गे पुल निर्माण भएर पनि प्रयोगमा आउन सकेका छैनन् । ती पुल अपायक पर्ने स्थानमा निर्माण हुनु र केही स्थानमा सडक सञ्जाल जोडिएका कारण ती पुल प्रयोगविहीन बनेका हुन् । जिल्लाका सातमध्ये छ वटा गाउँपालिकाका १६ वटा झोलुङ्गे पुल हाल प्रयोगविहीन अवस्थामा रहेको सिमकोट गाउँपालिकाका सबइन्जिनियर दानबहादुर रावलले बताउनुभयो ।
यसरी प्रयोगविहीन अवस्थामा रहेका झोलुङ्गे पुल गाउँपालिका अनुसार नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको ताक्चीको लिमी कर्णाली नदीमाथि निर्माण भएको झोलुङ्गे पुल प्रयोगमै नआई जीर्ण अवस्थामा रहेको छ । सोही गाउँपालिकाको वडा नं. ५ को तुम्कोटखोलाका दुई वटा झोलुङ्गे पुलको अवस्था पनि उस्तै छ । यता नाम्खा गाउँपालिकाको याल्वाङको चाला जानका लागि कर्णाली नदीमाथि निर्माण भएको पुल पनि प्रयोगविहीन अवस्थामा छ । नाम्खा गाउँपालिकाकै सल्लीखोलामा बनेको झोलुङ्गे पुल पनि प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त पुल एक वर्षअगाडि निर्माण भए पनि प्रयोगमा आउन सकेको छैन ।
नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले आफ्नो गाउँपालिकाका झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्वीकार गर्नुभयो । उहाँले यसो हुनुमा केही अपायक पर्ने स्थानमा निर्माण भएका र केही सडक सञ्जाल जोडिएका कारण पुल प्रयोगविहीन अवस्थामा भएको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाभित्रका अन्य धेरै पुल प्रयोगविहीन अवस्थामा पुग्ने बताउनुभयो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले आफ्नो गाउँपालिकाका प्रयोगविहीन पुल अन्यत्र सार्न खोजेको भए पनि स्थानीयले नै नदिएका कारण समस्या भएको बताउनुभयो । सिमकोटले यस्ता प्रयोगविहीन झोलुङ्गे पुललाई आवश्यक पर्ने अन्य स्थानमा सार्न खोजेको थियो । उहाँले प्राविधिक रूपमा राम्रो अध्ययन र आवश्यकतालाई ध्यान नदिएका कारण पनि यी पुल उपयोगविहीन बन्न पुगेका जनाउनुभयो ।
सिमकोट गाउँपालिका–७ को हेप्काखोलामा दुई स्थानमा निर्माण भएका झोलुङ्गे पुल पनि प्रयोगविहीन अवस्थामा छन् । सिमकोट गाउँपालिकाकै हुमानेखोला र रलिङखोलाको झोलुङ्गे पुल पनि प्रयोगमा आउन सकेको छैन् । खार्पुनाथ गाउँपालिका–१ को छारेको झोलुङ्गे पुल पनि प्रयोगविहीन अवस्थामा रहेको छ भने वडा नं. ५ को याङ्चुखोलाको पुल पनि प्रयोगमा आउन सकेको छैन । सर्केगाड गाउँपालिका–२ को रिपगार्डमा निर्माण गरिएको झोलुङ्गे पुल पनि प्रयोगविहीन छ । चङ्खेली गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमाथि निर्माण गरिएको पुल पनि प्रयोगविहीन छ भने दर्बीमा निर्माण भएको झोलुङ्गे पुल प्रयोगमा आएको छैन । दर्बी नदीमाथिकै मेखाला जाने बाटोको झोलुङ्गे पुल पनि प्रयोगविहीन रहेको छ । ताँजाकोट गाउँपालिका–५ को पैमाखोलाको झोलुङ्गे पुल पनि प्रयोगमा आउन सकेको छैन ।