• १३ फागुन २०८१, मङ्गलबार

सहरी कोरिडोरका दुई ठुला आयोजनाको डिपिआर

blog

प्रस्तावित सहरी कोरिडोरको नेपालगन्जदेखि सुर्खेतसम्मको रत्न राजमार्ग ।

रजनी योगी

सुर्खेत, फागुन १३ गते । नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर अन्तर्गत दुई ठुला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ । सहरी कोरिडोर अन्तर्गत ठुला १० वटा योजना कार्यान्वयन गरिने छ । जसमध्ये यो वर्ष दुई वटा योजनाको डिपिआर निर्माण गर्न लागिएको सहरी विकास आयोजना केन्द्रले जनाएको छ । 

सीमित बजेट हुँदा यो वर्ष दुई वटा आयोजनाको मात्र डिपिआर निर्माण गर्न लागिएको आयोजनाका उपनिर्देशक विनोद सिंहले बताउनुभयो । यसअघि नै कोरिडोरको विकास रणनीति तयार पारिएको थियो । उक्त योजना अन्तर्गत १० वटा योजना छनोट गरिएकोमा यो वर्ष दुई वटा योजनाको मात्र डिपिआर निर्माण गर्न लागिएको छ । गरिएको प्री–फिजिविलिटी अध्ययनका आधारमा डिपिआरका लागि दुई करोडको लागत अनुमान गरिएको थियो । 

चालु आर्थिक वर्षमा सरकारले ४० लाख मात्र बजेट विनियोजन गरेको छ । न्यून बजेट हुँदा दुई वटा मात्र योजनाको डिपिआर निर्माण गर्न लागिएको सिंहले बताउनुभयो । यो वर्ष डिपिआर निर्माण गरेर ती आयोजना आउँदो वर्षबाट कार्यान्वयनमा जाने छन् । अन्य आठ योजनाको बजेट उपलब्ध भए कार्यान्वयन गरिने जनाइएको छ । खानेपानी, फोहोर व्यवस्थापन, सहरी यातायात, भौतिक संरचना, वातावरणीय विषय, ठुला सभा सम्मेलन गर्ने भौतिक संरचनाको निर्माण गरिने छ । सडक निर्माण, चिस्यान केन्द्र, बसपार्क र ल्यान्डफिल्ड साइट निर्माण गर्न लागिएको हो । 

करिब दुई वर्ष लगाएर सहरी कोरिडोरको विकास रणनीति तयार पारिएको सहरी कोरिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालाहरूसँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको आयोजनाका उपनिर्देशक सिंहले जानकारी दिनुभयो । 

नेपालगन्जदेखि कोहलपुरहुँदै सुर्खेत जोड्ने सहरको रणनीति योजना तयार पारिएको उहाँको भनाइ छ । सहरी रणनीतिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने छ । सरकारले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा तीन सहर जोड्ने कोरिडोरको लागि एकीकृत विकास रणनीति तयार पा¥यो । चालु आर्थिक वर्ष २०८१/८२ मा १० वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने गरी छनोट भएका थिए । प्री–फिजिविलिटी अध्ययनले ५० योजनाको सूची तयार पारेकोमा १० वटा योजना छनोट भएका हुन् तर, बजेट अभावका कारण यो वर्ष मुख्य दुई वटा आयोजनाको डिपिआर निर्माण गरी आउँदो वर्षबाट आयोजना निर्माणको काम थालिने छ । 

सहरी कोरिडोर आयोजनाले दुई वर्ष लगाएर प्री–फिजिविलिटी अध्ययन गरेको हो । एक घण्टाको दुरीमा रहेका साना सहरलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भनेर अध्ययन गरिएको छ । यसअघि आयोजनाले चार वटा सहरी कोरिडोरको काम गरिसकेको छ । पाँचौँ कोरिडोरको रूपमा नेपालगन्ज–कोहलपुर–सुर्खेतको विस्तृत सम्भाव्यता अध्ययन गरिएको आयोजनाले जनाएको छ । अहिले कोरिडोर निर्माणको सुरुवाती चरणको काम सकिएको छ ।