हरिकृष्ण ऐडी
मुगु, फागुन १२ गते । सडक बनाइरहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते हुनुभएको छ ।
सोरु गाउँपालिका वडा नं. १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षीय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ।
घरायसी कामको लागि हुम्ला गएर आइतवार घर फर्कर्दै गर्दा साँझ ६:०० बजे गाउँनजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते हुनुभएको हो ।
कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजुरे देखि दोमुखसम्म ठेकदारले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार घाइते आमाको थप उपचारका लागि प्रहरीको सहजिकरणमा एम्बुलेन्सबाट जिल्ला अस्पताल मुगुमा उपचारका लागि भर्ना गरिएको छ। उहाँले भन्नुभयो स्वास्थ्यकर्मीको जानकारी अनुसार उहाँको अवस्था मध्यम रहेको छ ।
आइतबार घटना हुने बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटना स्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार घटनास्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो । सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाइ ठेकदार पक्षले लापरबाही गरि काम गर्दा यो घटना घटेको स्थानियहरुले आरोप लगाएका छन् ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनिले सुरक्षाका उपाय अपनायको थियो कि थिएन सबै कुरा प्रहरीले अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गमगढिबाट ५० किलोमिटर सडक दुरिमा टाढा रहेको छ ।