प्रनिश गिरी
कुश्मा, फागुन १२ गते । कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रैचित्रले भरिएको मालढुङ्गा नामक शिला गमक्क परेर बसेको झैँ देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुङ्गा क्षेत्रमा रहेको यस शिलाभरी विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुँदिएका छन् ।
धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरो र पहेलो रङ्ग जस्तो देखिने शीला मालढुङ्गा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडानं.–१ मा पर्ने मालढुङ्गा शिलामा हल्का पहेलो रङ्गले पोतिएको माला जस्तै आकृति देख्न पाइन्छ ।
मालढुङ्गा आसपासका अन्य शिलाभन्दा फरक छ । मालढुङ्गा शसलाको नामबाट नै मालढुङ्गा बजारको नाम रहेको हो । मालढुङ्गा शिलाको पूर्वपश्चिम तिर माझी र बोटेबस्ती छ । पश्चिमपट्टि पोखरा–बाग्लुङ राजमार्गसँगै मालढुङ्गा बजार छ । बजारदेखि उत्तरतर्फ रहेको मालढुङ्गा शिलालाई मालढुङ्गा–बेनी राजमार्गबाट सजिलै देख्न सकिन्छ ।
स्थानीय बोटे र माझी समुदायका अनुसार शिलामा देखिने माला आकारको पोतिएको चित्रका कारण मालढुङ्गा भनिँदै आएको हो । विशाल र चिल्लो ढुङ्गमा सिपालु चित्रकारले कुँदेर बनाएको जस्तो लाग्ने अनेकौं प्रकारका आकृतिले पनि मालढुङ्गालाई रहस्यमयी बनाएको छ ।
मालढुङ्गामा विभिन्न देवीदेवताको स्वरुप, चक्र, गौमुख, हात्तीको पाइला, सूर्यचन्द्रमा, माछा, आँखा, हात्तीको पाइला, बिच्छीलगायतको चित्र देख्दा जाेकसैले चित्र प्रदर्शनी कक्षको अवलोकन गरेजस्तै महसुस गर्दछन् ।
माझी समाजका अध्यक्ष मानबहादुर बोटेले मालढुङ्गालाई आफूहरुले शिवको स्वरुप मानेर पूजा गर्ने गरेको बताउनुहुन्छ । अध्यक्ष बोटेका अनुसार मालढुङ्गा शिलाको माथिल्लो भागमा कमलको फूलको चित्र प्रष्ट देख्न सकिन्छ भने भगवानको हातले आशीर्वाद दिएको जस्तै लाग्ने चित्र कुँदिएको देखिन्छ ।
मानिसहरु त्यतिबेला अचम्म हुन्छन् जब मालढुङ्गाकै पूर्वपट्टिको भित्तामा पाँच खण्डमा रहेको गजुरसहितको मन्दिर आकारमा देखिने चित्र छन् । स्थानीय ३८ वर्षीय युवा गणेश माझीका अनुसार मालढुङ्गाको अन्य भागमा लेउ लाग्ने गरेको भए नि यो मन्दिर आकारको देखिने चित्रमा भने कहिल्यै लेउ नलागेको र स्वरुप उस्तै छ ।
धार्मिक एवं पर्यटकीय महत्वको मालढुङ्गाको महत्व उजागर हुन नसकेकोमा बोटे र माझी समुदाय अगुवाहरुको गुनासो छ । कुश्मा नगरपालिका वडानं.– १ का अध्यक्ष खगराज पौडेलले धार्मिक महत्वको मालढुङ्गा संरक्षण र प्रवर्धन हुन नसकेको स्वीकार गर्दै भन्नुभयो, ‘‘मालढुङ्गाको धार्मिक र ऐतिहासिक महत्वलाई जनमानससम्म पुराउन अब लाग्नुपर्छ । यसपालि मालढुङ्गाको संरक्षणका लागि दुई लाख रुपियाँ रकम विनियोजन गरिएको छ ।’’
मालढुङ्गा पहिले मालढुङ्गाकै माथिल्लो भाग पाङमा रहेको र पछि पहिरो जाँदा तल कालीगण्डकी तटमा खसेको कुरा आफ्ना बाबुबाजेबाट सुन्दै आएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।
यस्तै ७० वर्षीय यामबहादुर माझीले आफ्ना पुर्खाहरुबाट सुन्दै आएको मालढुङ्गा शिलाबारेको किम्वदन्ती यसरी बताउनुहुन्छ, ‘‘मालढुङ्गा माथि पाङबाट खसेको थियो । खसेर कालीगण्डकी किनारको पारिपट्टि रहेको मालढुङ्गा शिवस्वरुप शक्ति हो । पारि रहँदा कालिका भगवतीसँग कुनै कुरामा मतभेद भएपछि पुन: वारि आएर बसेका हुन् ।’’
अगुवा माझीबोटेका अनुसार माझीबोटे वस्तीमा अनुसार पहिले बंगुर पाल्ने र फोहोर रहेको हुँदा मालढुङ्गामा भक्तजन आउने नगरेको भएपनि अहिले सरसफाइ गर्दै जाँदा सबै आउन थालेका छन् ।
मालढुङ्गामाथि लक्ष्मीनारायणको सानो आकारको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर बोटेमाझीकै पहलमा निर्माण भएको हो । वर्षमा एकपटक पुजा हुने मन्दिरको पुजारी बोटे छन् ।