• ११ फागुन २०८१, आइतबार

एमाले मोरङको अधिवेशनमा प्रतिनिधि छानिए

blog

शशिधर पराजुली 

विराटनगर, फागुन ११ गते । नेकपा (एमाले) मोरङको फागुन १७ गतेबाट सुरु हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरु छानिएका छन् । मोरङका १७ स्थानीय तहका ५९ वटा वडाबाट एमालेले शनिबार जिल्ला अधिवेशन प्रतिनिधि निर्वाचित गरेको हो । 

अधिकांश वडाबाट यस पटक एमालेले सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो । एमाले मोरङको आउँदो अधिवेशनमा ९१० जना प्रतिनिधिहरु सहभागी हुनेछन् । 

त्यसमध्ये भूगोलबाट शनिबार ६७६ जना प्रतिनिधि निर्वाचित भएको अध्यक्ष कार्कीले बताउनुभयो । पार्टीका विभिन्न जनवर्गीय सङ्गठनबाट १८८ जना अधिवेशन प्रतिनिधिहरु आइतबार साँझसम्म निर्वाचित हुनेछन् । 

त्यसका लागि सबै जनवर्गीय सङ्गठनमा निर्वाचन प्रक्रिया अगाडि बढिसकेको एमाले मोरङले जनाएको छ । जनवर्गीय सङ्गठनबाट प्रतिनिधिहरु निर्वाचित भइसकेपछि ४६ जना प्रतिनिधि जिल्ला कमिटीले मनोनीत गर्ने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

जनवर्गीय सङ्गठनलाई एमालेले दुई वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गमा रहेका जनवर्गीय सङ्गठनहरु अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान सङ्घ, खेलकुद महासङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आदिबाट पाँच जनाका दरले प्रतिनिधिहरु छानिने छन् भने ‘ख’ वर्गका सङ्गठन प्रेस चौतारी, कर्मचारी सङ्गठन आदिबाट तीन जनाका दरले प्रतिनिधि निर्वाचित हुने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

एमालेको आसन्न मोरङ जिल्ला अधिवेशनमा अध्यक्ष बन्न दुई समूहबाट करिव ६ जना अध्यक्ष पदका दाबेदार सक्रिय देखिएका छन् । अध्यक्ष पदका दुई जना दाबेदारहरु रुपेश खतिवडा र अन्जु उपाध्याय प्रतिनिधिको चुनावबाटै पछाडि हटेर उम्मेदवारी फिर्ता लिनुभएको थियो । यद्यपि उहाँहरु जिल्ला कमिटीबाट मनोनीत हुने सम्भावना यथावत् रहेको एमाले मोरङले जनाएको छ । 

जिल्ला अध्यक्ष पदमा दाबी गरिरहनुभएका ६ जना विभिन्न ठाउँबाट प्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको छ । जिल्ला अध्यक्ष बाबुराम कार्की, विराटनगर महानगरका पूर्व अध्यक्ष सागर थापा, कोशी प्रदेशसभाका पूर्व सांसद राजकुमार ओझा, महेश भट्टराई, इरान राई र अजम्बर राई भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुभएको छ ।