• ११ फागुन २०८१, आइतबार

विदेश छाडेर गाउँघरमा व्यावसायिक कृषि

blog

बिक्रीका लागी गोलभेँडा टिप्दै गरेका किसान ।

वराहक्षेत्र समाचारदाता 

वराहक्षेत्र, फागुन ११ गते । पाखुरी खियाएर आफ्नो परिचय बनाएका बालक चन्द्रवंशीलाई अचेल गाउँघर र आसपासका क्षेत्रमा नचिन्ने कमै भेटिन्छन् । नदी उकास क्षेत्र श्रीलङ्का टापुमा तरकारी र मकै खेती गर्दै आउनुभएका चन्द्रवंशी व्यावसायिक रूपमै कृषि व्यवसायमा लाग्नुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका चन्द्रवंशीले श्रीलङ्का टापुमा व्यावसायिक रूपमै गोलभेँडा खेती र मकै खेती गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएपछि के गर्ने भन्ने अन्योलमा पर्नुभएका उहाँले बाबुबाजेले गर्दै आएको कृषि पेसालाई नै अपनाउनुभयो । यही पेसामा लाग्छु भनेर सोच नभए पनि तरकारी खेतीबाट राम्रो आम्दानी पाउन थालेपछि व्यावसायिक रूपमै लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रूपमा खेती गर्दा राम्रै आम्दानी हुने रहेछ । समयको व्यवस्थापन र माग अनुसारको कृषि उपज उत्पादन गर्न सके लगानी र मेहनत खेर जाँदैन ।” 

चन्द्रवंशीले एक बिघा १० कट्ठा क्षेत्रफलमा गोलभेँडा र नौ बिघामा उन्नत जातको मकै खेती गर्दै आउनुभएको छ । उहाँ आठ बिघा जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लाग्नुभएको हो । प्रतिबिघा ३६ हजार रुपियाँका दरले जग्गा भाडामा लिएर मौसमी र बेमौसमी खेती गर्दै आउनुभएको छ । मौसम अनुसार दैनिक १० जनालाई रोजगारी दिँदै आउनुभएको छ । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडामा पर्ने श्रीलङ्का टापु उर्वरभूमि भएकाले उब्जनीका लागि राम्रो मानिन्छ । टापुमा गोलभेँडा, फूलकोपी, खुर्सानी, बोडी, रायो साग, भेन्टा, प्याज, लसुन, मकै, गहुँ, बदाम, उखु, बेसार किसानले लगाउँदै आएका छन् । तरकारी बाली र मकैबाट उहाँले राम्रो आम्दानी गर्नुभएको उहाँका दौतरी विभिषण कविरथ बताउनुहुन्छ । टापुमा उहाँसँगै व्यावसायिक रूपमा तरकारी र मकै खेती गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । 

नदीको बिच भागमा रहेको श्रीलङ्का टापु क्षेत्रमा मुख्यतः कृषि र पशुपालनका लागि राम्रो मानिन्छ । पछिल्लो समय टापुमा बिजुलीबत्तीसमेत पुगेपछि खेतीका लागि सहज बनेको युवा कृषक सुधन कविरथ बताउनुहुन्छ  । उहाँका अनुसार टापुमा बिजुलीबत्ती नहुँदा टापुवासी सिँचाइको समस्या र आरक्षबाट आउने जङ्गली जनावरको आतङ्क थियो । लगाएको बाली भिœयाउन मुस्किल हुन्थ्यो । 

पछिल्लो समय टापुवासीले उत्पादन गरेको गोलभेँडाले भारतबाट आयातित हुने गोलभेँडालाई प्रतिस्थापन गर्दै आएको छ । कृषक बालक चन्द्रवंशी भन्नुहुन्छ, “राज्यले हामीलाई समयमै मल किन्ने वातावरणदेखि बेमौसमी तरकारी खेतीका लागि मल्चिङ, ग्रिनेट र टनेलको व्यवस्था मिलाइदिए थप कृषि व्यवसाय टापु क्षेत्रमा फस्टाएर जाने थियो ।”  

व्यावसायिक कृषि कर्ममा लागेसँगै उहाँको पारिवारिक दैनिकीमा समेत परिवर्तन आएको छ । एक बिघामा मकै खेती गर्न ७० देखि ८० हजार खर्च हुँदा दुई लाख ५० हजार रुपियाँभन्दा बढीको मकै बिक्री हुने गरेको बालक चन्द्रवंशी बताउनुहुन्छ ।