• ११ फागुन २०८१, आइतबार

एघार विद्यालय भवन शिलान्यास

blog

विद्यालय भवनको शिलान्यास गरिँदै । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, फागुन ११ गते । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय, जापान सरकार, तत्कालीन पुननिर्माण परियोजना (जाइका) को सहयोगमा भेरी नगरपालिका र नलगाड नगरापालिकाका भूकम्पले जीर्ण विद्यालय भवन निर्माण गर्न थालिएको हो । 

गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि बर्साातको पानी र हिउँदको चिसोमा खुला आकाशमुनि बस्दै आएका बालबालिकाले भौतिक संरचनाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुने भएपछि भूकम्प प्रतिरोधी भवन निर्माण गर्न थालिएको छ । भूकम्प प्रभावित भेरी नगरपालिका तथा नलगाड नगरपालिकामा जनधनको ठुलो क्षति पुगेको थियो । 

दुई वटा स्थानीय तहका ११ वटा विद्यालयको भौतिक संरचना निर्माणका लागि ३७ करोडभन्दा बढी बजेटमा सुविधासम्पन्न गुणस्तरीय भवन निर्माण हुने तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) नेपालका इन्जिनियर विनोद केसीले बताउनुभयो । 

भेरी नगरपालिका–१३ स्थित भगवती माध्यमिक विद्यालयमा जापान सरकारको सहयोगमा नौ कोठे भवनसहित शौचालय, फर्निचर निर्माणका लागि तीन करोड १२ लाख ८९ हजार रुपियाँमा निर्माण व्यवसायीले २०८३ साउन ४ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । निर्माण गर्न थालेका नौकोठे विद्यालयको शिलान्याससमेत गरिएको छ । भेरी नगरपालिका र नलगाड नगरपालिकाका १२ कोठे, नौकोठे, छकोठे र चारकोठे बालमैत्री, लैङ्गिकमैत्री भवन निर्माण हुने छ । 

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहयकार्यमा जापान सरकारको आर्थिक सहयोगमा तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) का नेपाल निर्देशक मास्तुकी बिज्जुकीले शिलान्यास गर्नुभएको छ । भूकम्पका कारण जीर्ण भवनमा बालबालिकाको पठनपाठनमा समस्या भएपछि भवन निर्माणमा सहयोग गरिएको उहाँले बताउनुभयो । विद्यालय भवन १८ महिनाभित्र 

सम्पन्न हुने छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव जीवन भण्डारीले भवन अभावका कारण शिक्षाको गुणस्तर कमजोर भएको उल्लेख गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षा दिन निर्माण गर्न थालिएको भवनबाट आर्थिक अवस्था कमजोर भएका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने बताउनुभयो । भूकम्पप्रतिरोधी भवन आगामी दिनमा हुन सक्ने विपत् तथा आपत्कालीन समयमा सर्वसाधारणका लागि आवासका रूपमा प्रयोग हुने उहाँको भनाइ छ ।