• ११ फागुन २०८१, आइतबार

उपप्रधानमन्त्री सिंहद्वारा युवालाई आधुनिक प्रविधिको उपयोग गर्न आग्रह

blog

कार्यक्रममा सहभागी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायत । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन १० गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्तालाई आधुनिक प्रविधिको प्रयोग गर्दै तथ्यमा आधारित जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभएको छ।

शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा नेपाली कांग्रेस सूचना तथा प्रचार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयक कार्यक्रममा सम्बोधन गनुहुँदै मन्त्री सिंहले प्रविधिको उचित उपयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो। उहाँले युवालाई राष्ट्र निर्माणको अभियानमा अग्रसर भएर नयाँ सोच र प्रविधिमैत्री कार्यशैली अपनाउन प्रेरित गर्नुभयो।

उहाँले देशमा संकट पर्दा जहिले पनि कांग्रेसकै नेतृत्वमा समाधान भएको उल्लेख गर्नुहुँदै पार्टीका मुद्दालाई जनता समक्ष स्पष्ट रुपमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

केन्द्रीय सदस्य एवं अनुशासन विभागका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको अस्तित्व समाप्त भए प्रजातन्त्र पनि संकटमा पर्ने दाबी गर्नुभयो।  

कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीले गरेका राम्रा कामको प्रचार तथा विद्यमान चुनौतीबारे छलफल गर्न देशभर अभियान थालिएको बताउनुभएको छ। 

कार्यक्रमको उद्देश्य युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने, तथ्यमा आधारित जानकारी प्रदान गर्ने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने रहेको आयोजकले जनाएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सजन ठाकुरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कांग्रेका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य सञ्चार विभागका प्रमुख मिन विश्वकर्मा, केन्द्रीय सदस्य चन्द्रमोहन यादव, प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशका स्थानीय जनप्रतिनिधि तथा युवा कार्यकर्ताको उपस्थिति थियो।