• ११ फागुन २०८१, आइतबार

दलित पत्रकार संघ उपत्यका अध्यक्षमा सुनाम

blog

नवनिर्वाचित कार्य समिति र अन्य सहभागीहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १० गते । राष्ट्रिय दलित पत्रकार संघ नेपालको काठमाडौँ उपत्यका प्रदेश समितिको अध्यक्षमा अनिल सुनाम चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न अधिवेशनले अध्यक्ष सुनामसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

अधिवेशनले उपाध्यक्ष प्रकाश वराइली, शुस्मिता सुनार, सचिव प्रमोद परियार, सहसचिव टिका रसाइली र कोषाध्यक्षमा निरोज तालाङ्गीलाई चयन गरको छ । 

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले सहकारीका नाममा गरिबको पैसा अपचलन गर्ने र अनुउत्पादक क्षेत्रमा लगानी गरेर रकम डुबाउनेलाई कारवाही गरिने बताउनुभयो । 

मिडियाले राजनीतिक सामाजिक परिर्वतनका लागि महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सामाजिक तथा आर्थिक परिवर्तनका लागि पनि मिडियाको भूमिका आवश्यक छ ।” 

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मिडियामा दलित सहभागिता न्यायसंगत हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडिया आवाजविहीनको आवाज भनिए पनि समाजका उत्पीडन र विभेदमा परेको वर्ग समुदायको आवाज बन्न सकिरहेको छैन ।”

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्दले मिडियामा सामाजिक विषयवस्तुमाथिको बहस कम हुने गरेका चर्चा गर्दै भन्नुभयो, “राष्ट्रिय दलित पत्रकार संघले दलितमाथिको विभेदविरुद्ध मिडियाका माध्ययबाट आन्दोलन गरिरहेको छ । त्यो नेपाल पत्रकार महासंघको पनि आन्दोलन हो ।”