• १० फागुन २०८१, शनिबार

भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबिच परीक्षण सम्झौता

blog

प्रयोगशाला परीक्षणका लागि सम्झौता गर्दै प्रमुखहरू । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन १० गते ।
भेरी अस्पताल नेपालगन्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबिच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र शाहले बताउनुभयो ।

उहाँले भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग परीक्षणका लागि सहकार्य गरिएको बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीका अनुसार मानव शरीरमा रोग छ, छैन पुष्टि गर्ने, रोगको संवेदनशीलता निर्धारण गर्ने, उपचार तथा रोकथामपछि सुधार भए–नभएको मापन गर्ने र विभिन्न रोगका कारण पत्ता लगाउनका लागि नमूना परीक्षण गर्ने गरिन्छ ।

भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा नभएको हुँदा समस्या भइरहेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग सो बारेमा सहकार्य गर्ने सम्झौता गरिएको उहाँले बताउनुभयो ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले थप्नुभयो, ‘‘भेरी अस्पतालमा परीक्षण सम्भव नभएका स्याम्पलहरू भेरीमै सङ्कलन गरेर हामी टेकु पठाउँनेछौं, यसले बिरामीलाई बाहिर जानुपर्ने र महङ्गो रकम खर्चनु पर्ने अवस्थाको अन्त्य हुने छ ।’’

भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार भेरी अस्पतालमा परीक्षण सम्भव नभएका स्याम्पलहरू निजीमा गर्दा बिरामीले ठुलो आर्थिक भार खेप्नु परेकोले यो सम्झौता गर्नु परेको हो । 

स्याम्पलहरू भेरीमा सङ्कलन गरेर टेकु काठमाडौँ पठाउन चुनौती भए पनि त्यसको व्यवस्थापनका लागि हुलाक कार्यालय र एअरपोर्टसँग समन्वय भइरहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।