• ८ पुस २०८१, सोमबार

बुद्धभूमिमा सङ्कटापन्न गिद्धको बथान

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ १६ गते । गहुँ काटेर खाली भएको खेतमा केही दिनदेखि प्रकृतिको कुचीकारको संज्ञा पाएको गिद्धको बथान देखिन थालेको छ । केही आकाशमा उडिरहेका र रुखमा बसेका पनि देखिन्छन् । सिनोमा झुम्मिएका गिद्धको बथान देखेर स्थानीयले रमाइलो मान्ने गरेका छन् ।  

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवा (सेखुनिया तालनजिक) शनिबार गिद्धको निकै ठूलो बथान देखिएको थियो । विश्वमै सङ्कटापन्न अवस्थामा पुगेको सेतो गिद्धसमेत आहाराको खोजीमा आएको देखिएको थियो भने धेरैको सङ्ख्यामा खैरो गिद्ध रहेको थियो । डेरवा गाउँनजिकको बगैँचाभित्र स्थानीयका मरेका पशुचौपाया फाल्ने ठाउँ भएकाले गिद्धको बथान आहाराका लागि आउने गरेका वडाध्यक्ष शालिकराम यादवले बताउनुभयो ।

विश्वमा कम हुँदै गएको गिद्ध संरक्षणमा समुदाय र संरक्षणकर्मीको चासो बढेपछि गिद्धप्रति स्थानीयको चासो बढ्न थालेको हो । पशु उपचारमा प्रयोग हुने ‘डाइक्लोफेनेक’ नामको औषधिको प्रयोगका कारण गिद्धको सङ्ख्या कम हुँदै गएको पन्छीविद् बताउँछन् ।

 गिद्ध संरक्षणकर्मीका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । हाडफोर, सेतो, डगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे प्रजातिका गिद्ध नेपालमा पाइने गरेको तथ्याङ्क रहेको छ । डगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा रहेको छ । सेतो गिद्ध सङ्कटापन्न तथा हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक रहेको छ । खैरो गिद्ध भने सामान्य अवस्थामा रहेको पन्छी संरक्षण सङ्घका भुपाल नेपाली बताउनुहुन्छ । 

प्रकृतिको कुचीकारका रूपमा मानिँदै आएको गिद्ध सिकार नगर्ने मांसाहारी पन्छी हो । यिनीहरू मरेका तथा सडेगलेका सिनो खाने गर्दछन् । सिनो खाएर वातावरण सफा राख्ने हुँदा गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । सिनोको खोजीका लागि गिद्ध तीन सय किलोमिटर टाढासम्म पुग्ने गर्दछन् ।