पुल ! पुल !!
सबैको मुखमा पुल मात्र झुन्डेको छ । पुलबारे नबोल्ने कोही छैनन् । हरेकका मुखले पुलको चर्चा गरेकै छन् । यस्तो पुल, उस्तो पुल ।
“पुल पुग्नू नि !”
“पुलमा जानू !”
“ओहो, अहिलेसम्म पुल नपुगेको ?”
भेट्नेहरूले यही मात्र दोहो¥याइरहे, तेहे¥याइरहे, चौब्बराइरहे । मिल्सन स्ट्रिटमा गोपालजीको घरमा भेटिने हरेकले कुरा गर्दागर्दै जोड्थे पुल ।
एक दिन गौरीले भनेकी थिइन्, “अङ्कललाई पुलतिर लिएर जानु छ ।”
म मुस्काएँ । किनभने फेरि पुल कथा सुनाउने एउटा सङ्ख्या थपिएथ्यो उनको कुरा गराइबाट ।
अर्को दिन दीर्घा दिदीले कुरिलो केलाउँदै गफ गरेको सुनेँ, “भरे दिउँसोतिर भाइलाई लिएर म पुलतिर पुग्छु होला ।” “यो पुल नहेरी गइयो भने विलिङ्टनको पामिस्ट्रन नर्थ डुलेको सन्तोष नि लाग्दैन । अझ अपूरै हुन्छ नि,” दिदीले जोडबल गरेको ठानेँ । साँझपख म हरिया रुखको आलोक र फराकिला बाटाको किनारमा मुग्ध भएर बसिरहेको थिएँ । त्यहीँ भेटिए छवि काफ्ले । “पुल पुगेर फर्कनू है । नत्र थकथकी लाग्ला,” काफ्लेले भनेथे । संसारले चिहाइरहेको पुल नपुग्नु त मैले ? अब पुग्नैपर्ने ठहर मलाई भइरहेथ्यो मानावतु पुल ।
०००
१३ नोभेम्बरको चिसो दिन ।
काम सकेर चाँडै घर फर्केका गोपालले भने, “आज बेलुकी हामी पुल पुग्नु पर्छ । यो नजाँदा धेरै कुरा गुम्छ । पछि पछुतो हुने कुरा बेलैमा हेरेको जाती ।”
नभन्दै हामी बेलुकीपख निस्क्यौँ घरबाट । पामिस्ट्रान नर्थको सिटी काउन्सिल भएर गएको बाटोतिर हुइँकियौँ । सँगसँगै थिए हरियाली र उज्यालो । पानी परिरहेकैले होला चिसो पनि उल्कै थियो ।
सिटी काउन्सिल नाघेर पातलो बस्तीतिर लाग्यौँ हामी । यस्तै २०÷२५ मिनेटको समय छिचोलेलगत्तै अलिक सुनसान ठाउँनिर पुग्यौँ । एक्कासि खोलाछेउमा पुगेर गाडी थन्कायौँ ।
“लु, एक करोड डलरको पुल टेकौँ,” गोपाल पौडेल बोलेको सुनेँ । “यत्ति महँगो पुल टेक्ने कि छोएर मात्र फर्कने ?” मैले हाँस्दै भनेँ ।
यसो थोरै उकालो भएर पुलतिर उक्ल्यौँ । निकै कलात्मक पाराको नयाँ पुल रहेछ । स्टिल र फलामका बलिया बार थिए । वारिपट्टि पुलमा जाने मान्छे, साइकल, कार आदिको सङ्ख्या बताउने विद्युतीय सूचनापाटी थियो ।
“जनतालाई आनन्द दिलाउन सरकारले यो पुल बनाइदिएको हो । भर्खरै त हो यो बनेको,” गोपाल बोलिरहेको म सुन्छु । पुलबाट स्वात्तै कोही पनि तल नखसून् भनेर बलियो बार लगाइएको छ दुवैतिर । सेतो रङ पोतिएको छ बारमा । खोलाको वल्लो डिल र पल्लो डिलमा हलुका निला, खैरा, आकासे निला र सेता गरी चार÷पाँच वटा दह्रा खम्बा पनि गाडिएका रहेछन् । पुल बन्नु एकातिर हर्षको कुरा त भयो नै । यो पुलले भावनात्मक काम पनि मज्जैले गरेको रहेछ आजभोलि । गौरी, दीर्घा दिदी, छविलगायतले मलाई भनिरहेको कुरा योबेला सम्झेँ ।
“पुलको अर्थ यत्रो धेरै !” म मुस्काएँ र रमाएँ ।
०००
हामी पुल तरेर पारि गयौँ । पारि पुगेपछि पुलको सुन्दरता झनै खुल्यो । देब्रे र दाहिनेतिरबाट बाटो आएर पुलतिर पसेका थिए । मैले पुलको चारै कुनाबाट दुई÷चार फोटो किलिक्याएँ । हावा चिसो न चिसो भएर गर्धन समात्न आयो । कान लुछेर, नाक तछारे बेपत्तियो तर त्यसको पिरलो गरिनँ मैले ।
ओहो, कति सङ्लो खोलो ! ढुङ्गाका लेउसमेत छर्लङ्ङै देखिने बगिरहेथ्यो खोलो । पारिपट्टि माउरी जातिको संस्कृति झल्किने सानो काठेमूर्ति पनि एउटा कुनामा थियो ।
हामी उभिएको पछाडि पहाडको तरेली र फाँटले यो खोलाको सुन्दरता झनै खुलेको थियो ।
रहरलाग्दा फाँट थिए हरियालीले सर्लक्कै निलेका । ती फाँटमा भेडाका बथान छपक्कै थिए । यही खोलाले सिञ्चित गर्दै आएको हराभरा लाग्थ्यो वरपरको भूमि । मैले यस्तै अनुमान गोपालजीलाई पनि सुनाएँ । “पानीको दुःख छैन न्युजिल्यान्डमा । जताततै पानी नै पानी छ ।” उनले सही थापे मेरा कुरामा ।
म धेरैबेर खोलामा हराएँ । खोलाका किनारमा हुर्किरहेका सुरिला रुखले शीतलता र सुन्दरता पस्केको लाग्थ्यो । काँसे ढड्यान र नर्कटको घारी पनि त्यत्तिकै सप्लाएका थिए रहरिँदा भएर । नदीमा कुनै झार, लेउ वा पानीझार कतै पनि थिएनन् । चोखो र सफा पानी कुलकुलाएर बगिरहेथ्यो । मसिना लहर आउने र जाने गरिरहेथे ।
ढुङ्गामा ठोक्किएका लहरले बेला बेला सेता सिसाका झुर्का बनेको देख्न पाइन्थ्यो । त्यस्ता सेता छाल र निलो पानीको द्वन्द्वले नदीको गति झनै शालीन लागिरहेथ्यो, सौम्य लागिरहेथ्यो र सुन्दर लागिरहेथ्यो ।
“के रै’छ खोलाको नाम ?” मैले सोधेँ ।
“मानावतु हो यो नदी ।”
“यो नदीलाई यहाँका माउरीहरूले साह्रै नै मान्छन् । इतिहास र आफ्नो गौरव गाँसिएको छ यो नदीसँग । त्यसैले पनि सरकारले यति सुन्दर बनाइदिएको हुनु पर्छ,” गोपालका कुरा सुन्छु । “यही नदीकै नाउँबाट हाम्रो क्षेत्र नै मानावतु नामकरण भएको छ । अझ यो नदीले पुरानो सभ्यता र संस्कृति बोकेको छ । माउरीहरूको पुरानो गौरव जोडिएको छ यो नदी वरपर । इतिहासलाई जोगाएरै नयाँका लागि ज्ञान र सूचना हात प¥यो नि ।” मैले उनका कुरा सुनिरहेँ ।
०००
मानावतु र रङ्गिताने नदीबिच करिब २० औँ बस्ती रहेको ऐतिहासिकता भेटिन्छ । एक हजार तीन सयदेखि एक हजार आठ सय वर्षअगाडि मानावतु माउरी जाति र संस्कृतिका लागि अभिन्न अङ्ग बनेको तथ्य पाइने रहेछ ।
माउरी जातिका विभिन्न समुदाय मानावतु नदी छेउछाउमा बाक्लै बसोबास गर्न थालेछन् । माउरीले मानावतुको बाटो गरी यो क्षेत्रमा आउनेजाने गरेपछि यहाँ एउटा भिन्नै खालको बलियो संस्कृति र पद्धतिले विकासको रूप लिन पुगेछ । कतिपय माउरी समुदायले यही नदीबाट सरसामान ल्याउने, खानेकुरा सङ्कलन गर्दाको प्रमाण भेटिन्छ ।
मानावतुमा बाका टिवाई र बाका पाकोको गरी दुईखालका डुङ्गा माउरीले प्रयोग गर्थे । बाका टिवाई सानो खालको डुङ्गालाई र ठुलो डुङ्गालाई बाका पाकोको नाउँले चिनिन्थ्यो । सानो डुङ्गा छरितो, सानो र थोरै मानिस अट्ने हुन्थे । ती माछा मार्न, सिपी सङ्कलन गर्न र सामुद्रिक आनन्द लिन धेरै प्रयोग गर्थे माउरी जातिले ।
थोरै थोरै मान्छेलाई सेवा दिन वा उनीहरूका सरसामान ल्याउन लैजान पनि बाका टिवाईको प्रयोग हुन्थ्यो । ठुलठुला छालमा फुर्तीसँग वेग मारेर वेगिन निकै प्रख्यात हुन्थे बाका टिवाई । त्यस्तै ठुलो आकारका डुङ्गालाई बाका पाकोको भन्दछन् । यो निकै ठुलो, फराकिलो र गहिरो आकारको हुन्छ । धेरै मान्छे अट्ने, सरसामान धेरै बोक्न मिल्ने र गाउँबाट तयार गरिएका प्रशस्तै सरसामग्री लैजान बाका पाकोको प्रयोग हुने गर्दथ्यो । अग्लो र धेरै गहिरो हुने हुनाले शत्रुसँग लडाइँ लड्न पनि यस्तै डुङ्गाको प्रयोग गर्थे माउरी जातिले । समुद्री किनार र जलमार्गमा यस्ता ठुला डुङ्गा खुबै प्रयोग गर्ने ऐतिहासिक प्रमाण भेटिन्छ । खास गरी टुना फिस मार्नका लागि यस्ता बाका पाकोको औधी प्रयोग गर्थे माउरी जातिले ।
कहिलेकाहीँ गाउँका गाउँ सर्नुपर्दा पनि बाका पाकोको नै प्रयोग हुन्थ्यो । विभिन्न सिपी, सामुद्रिक शङ्ख, सार्क र कछुवा मार्न जाँदा पनि यही नै रुचाउँथे माउरी जातिले ।
बाका पाकोको प्रयोग गरी कति परिवारले निकै दुरीसम्मको सामुद्रिक यात्रा पनि गर्ने गरेको पुराना कथामा उल्लेख रहेछ । मानावातुमा पनि त्यसको अंश रहेको तथ्य भेटिन्छ ।
“भनेपछि भुइँमै नआउँदा नि हुने रहेछ है भाइ ?”
बाका पाकोको महìव थाहा पाएपछि मैले सोधेँ ।
हामी खोला हेर्दै पुल तरेर वारिपट्टि आइसकेथ्यौँ । अघि हामी उभिएको किनारमा थुप्रै चिनियाँ, जापानी, फिलिपिनी र भारतीयको हुलले घेरिसकेको थियो ।
उनीहरूको कल्याङमल्याङले मानावतु खोलाबारे थप छलफल भएको देखिन्थ्यो । “पानीले सबै कुरा दिने भएपछि माटोमा किन ओर्लनु प¥यो र तर केही वर्ष बित्ला । सधैँ चाहिँ पानीले पाल्न सक्दैन नि ।” गोपाल यत्ति भनेर शान्त भए ।
हामी कुरा गर्दै पुलको मुखैमा आइसकेथ्यौँ । त्यहीबाट फेरि मैले निकै फोटो किलिक्याएँ ।
पटक पटक खिचेपछि पनि मलाई कता कता, के के छुट्यो भन्ने परिरहेको थियो । अपुग छ भन्ने खलबली मेरो मनमा रहिरहेकै थियो । “एक करोडको पुल एक पटक फेरि हेर्नूस् ।” गोपालले मलाई पुलतिरै फर्कन लगाए ।
अनेकौँ चित्र, आकार र तस्बिरले पुलको भुइँ निकै सुन्दर देखिन्थ्यो । त्यति लामो पुलमा चार÷पाँच वटा जति निकै सुन्दर, कलात्मक र भव्य चित्र कोरिएका थिए ।
“भाइ, यी के के चित्र हुन् ?” मैले सोधेँ । सेती निगुरोको पात, काली निगुरोको मुन्टो र ठुली निगुरोका डाँठजस्तो आकृतिका निकै गजबका चित्रलाई खैरो, रातो र सेतो रङमा उतारिएको थियो । मध्यभागमा त टुप्पो निकै घुमुर्किएर सप्लाएको डौठे निगुरोको चित्र उतारिएको थियो गजबले । सेतो भुइँमा खैरो, रातो रङले चित्र कोरिएका थिए, अरू धेरै झुसे निगुरोका पात । “माउरी जातिका रहनसहन, नाचगान, खानपान र पोसाक झल्कने चित्र हुन् यी । यी चित्रबाट माउरी जातिको धेरै इतिहास पर्गेल्न सकिन्छ ।” गोपालका कुरा सुनेपछि फेरि पुल तरेर ती सबै तस्बिर नियालेँ मैले । हरेक चित्र एकै स्वरूपमा भए पनि तिनको मर्म, मूल्य र महìवमा कमी नआओस् भनेर सावधानी अपनाइएको प्रस्ट देख्न सकिन्थ्यो ।
सबै चित्र पुलको बिच भागबाट कोर्दै लगिएको थियो । कुनै लतपत, गाजमाजे र किरिङमिरिङ नभएकैले अत्यन्तै सुन्दर, आकर्षक र रहरलाग्दा देखिन्थे । माउरी जातिका प्रमुख जीवनशैली र संस्कृति बोलेका यी चित्रको आकारभन्दा पनि भावले सबैका आँखा तानिन्थे, मन तानिन्थे र चेतना तानिन्थे ।
“अचेल त हाम्रा धेरै नेपाली घरबाट हराए भने नि यै पुलतिर भेटिन्छन् । उनीहरूको मनको बह बिसाउने निकै शान्तको ठाउँ भएको छ यो पुल ।”
गोपाल बोलिरहेका थिए ।
“अरु पनि आउँदा हुन् नि । तरुनातरुनी नि ?”
मैले ठट्टा गरेँ । “बुढाबुढीलाई ल्याइदिनु पर्छ । अझै गाडी कुदाउन सक्दैनन् । तरुनातरुनी भने सक्षम हुन्छन् । आफैँ आउँछन् तर तिनको ठुस्काठुस्की मिलाउन चाहिँ तिनका बाउआमा नै चाहिन्छ ।” “मानावतु नदी र यो पुल हरेकका लागि खनखाँचो टार्ने चौतारी भएको छ अचेल ।”
गोपालले यत्ति भनेर गाडीतिर पाइला बढाए ।
राति झलमल्ल बल्ने यो पुलमा दिउँसोभन्दा रातिपख निकै भिडभाड हुँदो रहेछ । राति मान्छेको ओइरो लाग्ने हुनाले यहाँ चहलपहल हुने रहेछ निकै । मान्छे दिन कटाउन हैन, रमाउन यता आउने मैले मिल्सन स्ट्रिटमा धेरैका मुखबाट सुनेथेँ । राति त पानीको कलकल र झिलिमिली बत्तीको तामझामले मानावतुको पुल निकै रहरलाग्दो हुने छनक पाइसकेथेँ मैले तर रातिसम्म बसिरहने समय, फुर्सद र अनुकूल थिएन हामीलाई । उही कल्पना र सम्झना थिग्रियो मनमा । मैले पुलमुनि पानीको कलकल सुनेँ, पुलका प्रस्तरकला हेरेँ, मानावतु नदीका छाल नियालेँ । यी सबै सुन्दर र आकर्षक थिए । छातीभरि गम्लङ्ङ अँगालो हालेर कसिरहन मन लाग्ने परिवेशले गाँजेको थियो ।
अझ सरकारले परम्परा, इतिहास र सभ्यताको दिल खोलेर गरेको व्यवहार देख्ता गर्वले छाती फुल्थ्यो ढक्क... ढक्क.. ।