बाबुराम कार्की
वराहक्षेत्र, फागुन १० गते । गाउँमै प्रशोधनको सुविधा हुन थालेपछि उत्पादित बेसारले राम्रो भाउ पाउन थालेको छ । सुनसरीको वराहक्षेत्र २ मा रहेको हरिद्वार कृषि सहकारी संस्थाले गाउँमा उत्पादित बेसार खरिद गरी प्रशोधन सुरु गरेसँगै बेसारले राम्रो भाउ पाउन थालेको हो ।
हरिद्वार कृषि सहकारी संस्थाले बेसारलाई प्रशोधन गरेर काठमाडौँलगायत पूर्वी नेपालका सहरहरूमा बिक्रीवितरण गर्न थालेको छ । यसरी बिक्री हुन थालेपछि वराहक्षेत्र १ र २ वडाका किसान बेसार उत्पादन गर्न उत्साहितसमेत भएका छन् । यहाँ प्रशोधित बेसार अर्गानिक हुने भएकाले काठमाडौँलगायत विभिन्न स्थानबाट माग बढिरहेको स्थानीय कृषक धनबहादुर राईले बताउनुभयो ।
२०७१ सालमा स्थापना भएको हरिद्वार कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यले उत्पादन गरेको बेसार खरिद गरेर धुलो बेसार उपभोक्तासम्म पु-याउने गरेको संस्थाका अध्यक्ष लोकबहादुर दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्थाको मुख्य उद्देश्य भनेको रैथाने उत्पादनलाई खरिद, भण्डारण, प्रशोधन, प्याकेजिङ गरेर बजारसम्म पु-याउनु हो ।”
सहकारीले ८० लाख रुपियाँ लागतमा स्थापना गरेको फ्याक्ट्रीले दैनिक दुई हजार केजी धुलो बेसार उत्पादनको क्षमता राख्छ । संस्थाका लेखा समिति संयोजक कृष्ण भण्डारीले भन्नुभयो, “यद्यपि, हाल दैनिक आठ सय केजी मात्रै बेसारको धुलो उत्पादन गरिँदै आएको छ । बजारमा माग बढेको बेला बढी उत्पादन गर्ने गरेका छौँ ।”
भण्डारीका अनुसार संस्थामा ५०७ जना सेयर सदस्य नै उत्पादनसँग जोडिएका छन् । संस्थाले किसानकै घरबाटै सुकेको सिम्टा बेसार प्रतिकेजी २७५ रुपियाँमा खरिद गर्ने गरेको संस्थापक अध्यक्ष लोकबहादुर दाहालले बताउनुभयो । धुलो बेसार भने प्रतिकेजी पाँच सय रुपियाँका दरले बिक्रीवितरण गर्दै आएको छ । सहकारीले गत वर्ष १८ लाख रुपियाँको तयारी बेसार बिक्री गरेको जनाएको छ ।
संस्थाले किसानलाई बेसारको बिउ पनि उपलब्ध गराउने गरेको छ । प्रतिकेजी ५० देखि ६० रुपियाँका दरले किसानलाई स्थानीय जातको बिउ दिने गरेको संस्थाले जनाएको छ ।
सहकारीले बेसारसँगै विभिन्न किसिमका मसला पनि तयार गरेर बिक्री गर्दै आएको छ । यसबाट वार्षिक ५० लाख रुपियाँभन्दा बढीको कारोबार गर्दै आएको अध्यक्ष दाहालले बताउनुभयो । यसरी स्तानीयस्तरमै प्रशोधनको सुविधा भएपछि बेसार उत्पादन गर्ने किसानले साढे दुई लाखदेखि साढे तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।