• १० फागुन २०८१, शनिबार

जुम्लाका बाह्र वडा बालविवाहमुक्त

blog

हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त घोषणा गरिँदै । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, फागुन १० गते  । जुम्लाको १२ वटा वडा बालविवाहमुक्त भएका छन् । सिँजा क्षेत्रमा रहेको हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा भएपछि जिल्लामा १२ वटा वडा बालविवाहमुक्त वडा घोषणा भएका हुन् । यसअघि हिमाका वडा नं १, २, ३ र ५ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । सिँजा गाउँपालिकाको वडा नं. २, ४ र ६, कनकासुन्दरी गाउँपालिकाको वडा नं. ४, ५ र पातारासी गाउँपालिकाको वडा नं. ५, तिला गाउँपालिकाको वडा नं. ६ र गुठीचौर गाउँपालिका–४ बालविवाहमुक्त घोषणा गरिसकिएका छन् । 

‘पछिल्लो समयमा बिहेबारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने लक्ष्य अनुसार सबै सूचक पूरा गरी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार समाजमा बालविवाह समाजमा बढी असर गरेका कारण गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । उहाँले वडा नं. ५ सहित चार वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको जानकारी दिनुभयो । 

घोषित वडामा बालविवाहसम्बन्धी रणनीति, बाल संरक्षण नीति, बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालयस्तरमा व्रिmयाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएका छन् । नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुसार गैरसरकारी संस्थाको सहयोग र समन्वयमा यहाँका स्थानीय तहले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । हिमा गाउँपालिकाका सात वटा वडामध्ये चार वटा  वडा बालविवाहमुक्त भइसकेका छन् ।