• १२ असार २०८१, बुधबार

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

blog

काठमाडौँ, जेठ १६ गते । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।  अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो । 

उहाँले मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने घोषणा गर्नुभयो ।

बजेटमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत कर छुट दिएको छ । देशमै सेनेटरी प्याडका कच्चा पदार्थका लागि १ प्रतिशत मात्रै कर लाग्ने बजेटमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटमा छ ।

यस्तै सरकारले दुर्गम क्षेत्रमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने तथा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने भएको छ । उक्त केन्द्रलाई अङ्ग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानका रूपमा विकास गरिने बताउनुभयो । 

स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरूको निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । उहाँले ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याइने बताउनुभयो । 

यस्तै क्यान्सर रोग पहिचान तथा निदानका लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड बजेट छुट्याएको जानकारी दिनुभयो । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपियाँ  बजेट विनियोजन गरेको छ । 

यस्तै मिर्गौलाका बिरामीको मिर्गौला प्रत्यारोपण निःशुल्क गरिने र त्यसका लागि १० करोड विनियोजन गरिएको छ । सबै प्रादेशिक अस्पतालमा पनि मिर्गौलाका बिरामीको डायलासिस सेवा निःशुल्क उपलब्ध गराउने र मेसिन खरिदका लागि २० करोड रकम विनियोजन गरिएको छ । 

शिक्षकका लागि बेग्लै अस्पताल निर्माण गर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीले पाउने पोषण खर्चको रकममा वृद्धि गर्ने, मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट पाँच हजार पोषण खर्च उपलब्ध गराउने योजना बजेटमा समेटिएको छ । यो वर्ष स्वास्थ्य क्षेत्रमा ५९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।