• २२ मङ्सिर २०८२, सोमबार

फिदिममा १५ दिने हाड जोर्नी शिविर : ७९ जनाको अप्रेसन

blog

फिदिममा आयोजित हाड जोर्नी र नशासम्बन्धी शिविरमा उपचार गर्दै चिकित्सक । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, मङ्सिर २२ गते ।
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ ।

बेल्जियमबाट आउनु भएका हाडजोर्नी विशेषज्ञसहितको उपस्थितिमा आयोजित शिविरमा मानिसका शरिरमा राखिएका स्टिल रड झिक्ने, आवश्यकता अनुसार स्टिल र रड राख्ने, बाङ्गा टिङगा हात खुट्टा मिलाउने सँगै हाड जोर्नी र नशासम्बन्धी उपचार र परीक्षण भइरहेको छ ।

फिदिम नगरपालिकाको आयोजना र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा मङ्सिर १६ बाट सुरु भएको शिविर २९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

उहँका अनुसार यो अवधिमा ६ सय २ जना हाड जोेर्नी र नशासम्बन्धी बिरामीको परीक्षणसँगै आवश्यक परामर्श दिइएको छ ।

विभिन्न किसिमका दुर्घटनामा परेर उपचारका क्रममा शरिरमा स्टिल रड र किला काँटी राखिए पनि सेवाको पहुँचबाट टाढा रहेका कारण झिक्न नसकेका बिरामीलाई सुविधा दिन यो शिविर आयोजना गरिएको हो ।

नगरपालिकाले वर्षेनी, हाड जोर्नी, नशा र आँखासँगै क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।  शिविर पाँचथर जिल्ला अस्पतालमा सञ्चालन भइरहेको छ ।