काठमाडौं, फागुन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
महाशिवरात्रीको तयारी अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो ।
उहाँले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाई भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गर्नुभयो । उहाँले महाशिवरात्री नेपालीहरुको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपतिनाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको उल्लेख गर्नुभयो । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्त्व बढ्ने उहाँको भनाइ छ ।
मन्त्री पाण्डेले, ‘‘यो निकै महान् पर्व हो । नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन भनेको महाशिवरात्री हो । त्यो दिनलाई जति व्यवस्थित गर्नसक्यौँ, जति राम्रो गरी सञ्चालन गर्नसक्यौँ । देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महसुस गर्न सक्नुभयो, त्यति नै महत्त्व, महाविशरात्रीको महत्त्व र देशको महत्त्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ । तयारी तीव्र गतिमा भइरहेको छ । रङरोगनको काम भइरहेको छ । यस पटकको शिवरात्री अझ व्यवस्थित हुनेछ, भक्तजनहरु अझ सन्तुष्ट हुनुहुनेछ ।’’
उहाँले महाशिवरात्री मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।