कालीकोट समाचारदाता
कालीकोट, फागुन ९ गते । युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितको मागसहित आयोजित जिल्लास्तरीय तेस्रो युवा भेलाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेको छ । ‘सिर्जनशील तथा उद्यमशील किशोरकिशोरी राष्ट्र परिवर्तनका संवाहक’ भन्ने नारासहित मङ्गलबारदेखि सुरु भएको युवा भेलाले नयाँ नेतृत्वसहित युवाका सवालमा घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
भेलाले जलवायु परिवर्तनले परम्परागत रैथाने बालीमा प्रतिकूल असर गरेको ठहर गर्दै जलवायु परिवर्तनका असरसँग जुध्न वातावरणमैत्री, नीति निर्माण गरी हरित विद्यालय, हरित सडक र हरित गाउँको अवधारणामा काम गर्न अभियान सञ्चालन गर्ने भएको छ । कालीकोटका युवालाई उद्यमशीलतामा जोड्न एक गाउँ एक उत्पादन, विपत् व्यवस्थापन, स्थानीय तहका सबै संरचनामा युवाको अनिवार्य सहभागिता हुनुपर्ने, विकास निर्माणमा युवालाई कामदारका रूपमा मात्र नभएर नेतृत्वकर्ताका रूपमा जिम्मेवारी दिनुपर्ने माग गरिएको छ ।
सबै स्थानीय तहमा युवासम्बन्धी नीति, निर्देशिका, कार्यविधि तयार गरी बजेट र कार्यक्रम तय गर्नुपर्ने, युवा सञ्जालको गठन गरी क्षमता विकास र सिपमूलक तालिमको व्यवस्था हुनुपर्नेलगायतका विषय घोषणापत्रमा समेटिएका छन् । युवा भेलामा कांग्रेस, एमाले, माओवादी केन्द्रका प्रतिनिधिले युवाका लागि आआफ्नो दलको घोषणापत्रमा उल्लेख भएका विषयबारे चर्चा गरेका थिए भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आयआर्जनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता कालीकोटका युवाले मुख्य सवालका रूपमा छनोट गरेका छन् । परिवर्तनमा युवाको अगुवाइ महìवपूर्ण रहेकाले समाजमा व्याप्त हानिकारक प्रथा बालविवाह, बहुविवाह, जातीय तथा लैङ्गिक विभेद, लागुऔषध दुव्र्यसनविरुद्ध अभियान चलाउने पनि घोषणापत्रमा समेटिएको छ ।
भेलामा जिल्लाका नौ वटै स्थानीय तहका ४५ जना युवा सहभागी थिए । भेलाले रास्कोटकी सत्य उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय जिल्ला युवा सञ्जाल पनि गठन गरेको छ । युवाका सवालमा काम गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षणसहित कालीकोट घोषणापत्र जारी गरेको पत्रकार तथा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनुभयो ।