• १० फागुन २०८१, शनिबार

क्यान्सर परीक्षण गर्ने सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ९ गते । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबिच क्यान्सर रोगको परीक्षण गर्ने सम्झौता भएको छ । सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो । 

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले अस्पतालसँगको सम्झौताले बिरामीलाई सहज हुने बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा विशिष्टीकृतस्तरको प्रयोगशाला नहुँदा बिरामी निजीमा चर्को शुल्क तिरेर जान बाध्य भएको भन्दै अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो । 

प्रयोगशालाले हालसम्म सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग सम्झौता गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।