• १० फागुन २०८१, शनिबार

नागरिकको सूचना पहुँच बढाउन भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

blog

काठमाडौँ, फागुन ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रूपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो ।

साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्यसम्बन्धी गतिविधि र सूचना नागरिकले बढीभन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भन्नुभएको थियो । यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ ।

यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ सुरुवात गर्न लागिएको हो ।

‘‘साताभरका गतिविधि भिडियोमार्फत पस्कदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,’’ उहाँले भन्नुभयो, ‘‘भोलिबाट सुरुवात हुनेछ ।’’

मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमति दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू प्रेषण गर्दै आइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा भई रहेका काम, स्वास्थ्य सम्बन्धमा आवश्यक सूचना आदि नागरिकलाई नियमित रूपमा जानकारी गराउन भिडियो ब्रिफिङ सुरुवात गर्न लागिएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।